सरकार

सरकारले शिक्षकहरूमाथि दमन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

इकागज |
भदौ १, २०८१ शनिबार १८:३१ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षा मन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरूमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताएका हुन् ।


यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरूले शिक्षकहरूमाथि दमन गर्ने काम गरेको बताए । ८२५ शिक्षकलाई राजीनामा गराए, राजनीतिक आबद्धता त्याग्न लगाए जस्ता कुराहरू सही नभएको उनले बताए ।

प्रधानमन्त्री ओलीले शिक्षक सरकारका शत्रु नभएको र सरकारले शिक्षकमाथि अत्याचार गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले अहिलेको समय अनुसार शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षासम्बन्धी ऐन सबैको छलफलपछि अघि बढाउने उल्लेख गरे ।​ उनले अहिले पनि समाजलाई कानुन, संविधानप्रति जवाफदेही हुनुपर्छ भन्ने बनाउन जरुरी रहेको बताए । 


Author

थप समाचार
x