सरकार

परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा गरायो प्रधानमन्त्री ओलीको चीन भ्रमणको जानकारी

इकागज |
मंसिर १४, २०८१ शुक्रबार १५:६ बजे

फाइल फोटो

सरकारले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने जानकारी गराउँदै औपचारिक घोषणा गरेको हो  ।

मन्त्रालयले उत्तरी छिमेकी मुलुक चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनफिङसँग समेत भेटवार्ता गर्ने जनाएको छ । सो भ्रमणको क्रममा चीनका प्रधानमन्त्री छ्याङसँग दुई पक्षीय वार्ता हुनुको साथै चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उनको भेटवार्ता हुने मन्त्रालयले जनाएको छ ।


भ्रमणको क्रममा प्रधानमन्त्रीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । साथै, प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x