सरकार

'किचन क्याविनेट'मा जिम्मेवारी दिन अब्बलको खाेजीमा देउवा !

प्रधानमन्त्रीको सामाजिक सञ्‍जाल र सञ्‍चार व्यवस्थापन तत्काल अत्यावश्यक

इकागज |
साउन २, २०७८ शनिबार २०:५ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रधामन्त्री शेरबहादुर देउवा प्रविधिमा खासै रुचि राख्दैनन् । सायद यसैले होला, यतिबेला आफ्नो सरकारी ट्वीटर ह्याण्डलसमेत व्यवस्थित गर्न सकिरहेका छैनन् । उनले सञ्‍चार क्षेत्र हेर्ने, अन्य निकायमा आफूलाई सवल सल्लाह दिने र निरपेक्ष ढंगले काम गर्ने समूह बनाउन पनि भ्याएका छैनन् ।

प्रधानमन्त्री भएको पाँच दिन भइसक्दा पनि उनले त्यसतर्फ कसैलाई जिम्मा दिन नसक्नु भनेको कि अब्बल मानिस नभेट्नु हो, कि त अधिकले आफूलाई प्रस्तुत गर्दा कसलाई बनाउने भनेर अन्यौलमा पर्नु हो । अन्य सल्लाहकारपछि लिए पनि सामाजिक सञ्‍जाल र अन्य गतिविधि नियाल्ने काममा सरकारी वा बाहिरबाट आफ्नो अति विश्‍वास पात्र लिन ढिलाइ गर्न मिल्दैन । 


यतिबेला सामाजिक सञ्‍जालको प्रभाव छ भन्ने उनलाई थाहा नभए पनि प्रधानमन्त्री पत्‍नी डा. आरजु राणालाई जानकारी हुनु पर्ने भन्दै यस्ता विषयमा बेलैमा गम्भीर भएर लाग्‍न पर्ने सुझाव विदेशबाट आइरहेका छन् । देउवाले पुराना टेस्टेड भन्दा नयाँ फ्रेस र अध्ययन गरेका व्यक्तिलाई यस्ता क्षेत्रमा काम गर्न दिनुपर्ने हुन्छ । यद्यपि सञ्‍चार क्षेत्र र सामाजिक सञ्जाल नियाल्न भने आफ्ना भित्री अत्यन्त विश्वासिलो व्यक्ति तय गर्न सक्नुपर्छ । 

अझ विदेशी भेटेको र अन्य विषय पोष्ट गर्दा कम्तिमा तीन जनाले नियाल्नु पर्ने अवस्था छ । किनकी परराष्ट्र मन्त्रायले गर्ने पोस्टसमेत अनेकन विवादमा आएको विगत छ । उनका वरपर बस्‍ने र देउवाका सारथी भन्‍नेहरूले पनि यस्ता विषयमा ध्यान दिन जरुरी छ । 

अनि अर्को पाटो भनेको मुख्य सचिव शंकरदास बैरागीले पनि यस्ता साना तर गम्भीर विषयमा आफैँले ध्यान दिनु पर्ने थियो । तर, उनले पनि ध्यान दिएको देखिँदैन । प्रधानमन्त्रीको गतिविधि र अन्य कार्यक्रमहरू मात्र होइन हुने निर्णयहरू पनि स्पष्ट रूपमा बाहिर आउनुपर्छ । 

नियुक्ती खान बालुवाटार धाउँदै 

हुनत अहिले कोही न कोहीको फेरो समाएर नियुक्ति खोज्दै बालुवाटार पुग्‍नेको सूची सहयोगी भानु देउवासँग लामै छ । यद्यपि उनी शुभकामना दिन आएको मात्रै भन्छन् । तर अधिकांशले म यहाँको सहयोगी रहेर जुनसुकै क्षेत्रमा पनि यहाँसँग काम गर्ने भन्‍न थालिसकेका छन् ।

कतिपयले प्रधानमन्त्री पत्‍नी डा. आरजुमार्फत आफ्ना कुरा पुर्‍याउन खोजेका छन् । यो अवस्थामा देउवाको वरपर रहेर काम गर्ने नेताहरूले ध्यान दिएर जिम्मेवारी दिनुपर्छ । आर्थिक क्षेत्रमा काम गर्न नेपालमा बसेर कन्सलटेन्सी चलाउने (जो शक्तिमा आयो उसैसँग टाँसिने) लाई भन्दा विदेशमा विज्ञका रूपमा काम गरेर बसेका वा यही प्राध्यापनमा लागेकालाई बोलाएर जिम्मा दिन सकिन्छ ।

विभिन्‍न मुलुकका प्रधानमन्त्री राष्ट्रपतिसँग सल्लाहकार रहेर काम गरेका नेपालीहरू पनि छन् । त्यस्ता काविलहरूको खोजी गर्नपर्छ । विर्सनु हुन्‍न डा‍. भेषबहादुर थापा त्यतीबेला जागिर माग्‍न आएका होइनन्, खोजेर ल्याइएको हो र २४ वर्षमा नै सचिवको जिम्मेवारी दिइएको हो । 

आफ्नो प्रशंसा गर्ने र आफूलाई अब्बल छु भनेर आउने भन्दा कामले अब्बलता देखाएकालाई खोजी गर्न देउवा चुक्न हुन्‍न । विश्‍वासको मत पाएको खण्डमा प्रधानमन्त्री देउवाले आगामि डेढ वर्ष सरकार चलाउने हुनाले पनि यस्ता सुझावहरू प्रधानमन्त्रीलाई आएका छन् ।

कूटनीतिक क्षेत्र होस या आर्थिक यो विषयमा अब्बल विज्ञको खोजी अहिलेका आवश्यकता हो । राजदूतमा सिफारिस भएर सहमतिमा गएका नामहरू तत्काल रोक्न पर्ने भनिएको भए पनि सरकारले त्यता सोच्‍न भ्याएको छैन ।

कतिपय स्थानमा फेरबदल पनि जरुरी रहेको र त्यसका लागि छलफल गर्न पर्ने देखिन्छ । मुख्य सचिव बैरागी पनि यो विषयमा बढी नै जानकार रहेकाले उनले पनि त्यहाँ फरक भूमिका खेल्न सक्ने हुनाले ध्यान दिन जरुरी छ ।  
 


Author

थप समाचार
x