सरकार

मन्त्रिपरिषद् विस्तारमा देउवाकाे जाेड, नेता नेपाल अझै स्पष्ट भएनन्

इकागज |
साउन ९, २०७८ शनिबार २०:० बजे

फाइल तस्बिर

काठमाडौँ - सरकार सञ्‍चालन तथा मन्त्रिपरिषदको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ । छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए । सर्वोच्च अदालतको फैसलापछि नेपाल यसरी बैठकमा सहभागी भएका थिएनन् ।

देउवा प्रधानमन्त्री भएपछि नेपाल पहिलोपटक बालुवाटार पुगेर गठबन्धनको छलफलमा सहभागी भएका हुन् । यसअघिका बैठकमा उनले आफ्नो प्रतिनिधि पठाएका थिए । 


प्रधानमन्त्री देउवाले राखेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । 

देउवाले छलफलको क्रममा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयलाई बढी जोड दिएका थिए । उनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने बताएका थिए । सबैले आफ्नो भागमा परेको संख्या अनुरुपको नाम छिटो दिन पनि उनले आग्रह गरेका थिए । देउवाकाे जोड माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउनेमा छ । 

छलफलमा राजनीतिक दलबारेको कानुनी प्रावधान लगायतको विषयमा पनि छलफल भएको जानकारी वालुवाटार श्रोतले दियो ।  बैठकमा यसअलवा सत्ता गठबन्धन दिगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिक घटनाक्रम र छिमेक तथा शक्ति मुलुकको सरकारप्रतिको दृष्टिकोणलगायत विषयमा छलफल भएको थियो ।

यसअघि भएका गठबन्धनका बैठकमा नेता नेपाल उपस्थित हुने गरेका थिएनन्। उनले प्रतिनिधिको रूपमा विजय पौडेललाई पठाएका थिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले प्रस्ताव राखेका थिए । अन्य दलहरूले भागवण्डाबारे कुरा गरे पनि नेपालले भने सरकारमा सहभागी हुने/नहुनेबारे स्पष्ट बताउन सकेनन् । 


Author

थप समाचार
x