सरकार

राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज

इकागज |
असोज ११, २०७८ सोमबार २०:५२ बजे

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जनन्नाथ पन्थले विज्ञप्तिमार्फत जनाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अपरान्ह राजनीतिक दलसम्बन्धी अध्यादेश–२०७८ फिर्ता गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सिफारिस गर्ने निर्णय बमोजिम भएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने सिफारिस राष्ट्रपतिले स्वीकृत गरेकी हुन् । 


केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहितको अध्यादेश ल्याइएको थियो । त्यो अध्यादेश फिर्ता नलिएमा आफूहरूको दल फुट्ने, जनता समाजवादी पार्टीले बताइरहेको थियो । त्यही अध्यादेशका कारण गठबन्धन सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको थिएन् ।

अध्यादेश आएपछि एमाले र जसपा विभाजित भएका थिए । दुबै दल विभाजनको प्रक्रिया टुंगिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सत्ता गठबन्धनका नेताहरूका अनुसार अब मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरू लागेका छन् । 


Author

थप समाचार
x