सरकार

सुदूरपश्‍चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकोप्टरबाट उद्धार गरिँदै

इकागज |
कात्तिक २, २०७८ मंगलबार १०:४ बजे

फाइल तस्‍बिर

काठमाडौँ - लगातार परेको ठूलो वर्षात्‍का कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदैछ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन् । 

वर्षात्‍का कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् । महाशाखा प्रमुख पाण्डेकाअनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन् । केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरू बीचमा थुनिएको खबर आएको पाण्डेले बताइन् ।


मन्त्री खाणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन् ।  त्यस्तै उनले गृहको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख पाण्डेलाई तत्काल विपद्‍मा परेकाहरूको उद्धार, अस्थायी स्थानान्तरणको कार्य अघि बढाउन निर्देशन दिए । 

केही दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्‍चिमका अधिकांश नदीमा पानीको सहत बढैको छ । कर्णाली, सेती र महाकाली नदीले खतराको तह पार गरेका छन् । नदी तटीय क्षेत्रमा जोखिम बढेकोले आवश्‍यक सतर्कता अपनाउन भनिएको छ । 


Author

थप समाचार
x