सरकार

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

इकागज |
कात्तिक २, २०७८ मंगलबार १३:२४ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा ठूला वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई सो निर्देशन दिएका हुन्। 

त्यसपछि गृहमन्त्री खाणले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको जीउज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिए । उनले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिइ काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । 


सुरक्षा निकाय र प्रभावित जिल्लाका सम्बद्ध स्थानीय प्रशासनहरू विपद् व्यवस्थापन कार्यमा जुटेका छन् । विभिन्न जिल्लामा मानिसहरू फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र सोही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिए ।

उनका अनुसार यही असोज ३१ गतेदेखि मुलुकभर मौसम बदली भई नेपालको पश्चिम क्षेत्र बढी प्रभावित बनाएको छ । सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला र तिनका सहायक नदीमा बाढी आएको छ । 

विपद्का कारण डडेल्धुरा र कालीकोटमा एक÷एकजनाको मृत्यु र एक÷एकजना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०० घर डुबानमा परेका छन् । सोही क्षेत्रका बासिन्दाको उद्धार प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । 

महाकालीको बहाव उच्च रहेको र आसपासका क्षेत्रका जोखिम बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्राधिकरणकाप प्रमुख पोखरेलले बताए । बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय नै डुबानमा परेको र प्रहरी सुरक्षित ठाउँमा  सरेका जनाइएको छ ।
 
कर्णालीको बहाव बढेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन् । प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिराका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । भोलिसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ ।  विभिन्न क्षेत्रमा काटेर राखेको धान नै वर्षा र बाढीले डुबाएको छ । भित्रिने बेलाको धानमा क्षति पुगेपछि किसान नराम्ररी प्रभावित भएका छन् । 

हाल बङ्गालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । आज पनि सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रासस
 


Author

थप समाचार
x