सरकार

सरकारको ‘प्रोग्रेस रिपोर्ट’

सरकार भन्छ– १०० दिन उपलब्धिमूलक

इकागज |
कात्तिक ३, २०७८ बुधवार १०:४६ बजे

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको १०० दिन निकै उपलब्धिमूलक भएको सरकारले उल्लेख गरेको छ । 

प्रधानमन्त्री देउवाको सचिवालयले १०० दिनमा कोभिड–१९ को खोप अभियानमा निकै  ठूलो प्रगति भएको जानकारी दिएको छ । मंगलबारसम्म ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्णमात्रामा खोप लगाइसकेका छन् भने ८५ लाख ६२ हजार ३ सय ६५ जनाले कम्तीमा एक मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । 
प्रधानमन्त्री भएपछि देउवाले सरकारको एकमात्र प्राथमिकता सबै नागरिकलाई २०७८ चैतसम्म कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने र आर्थिक गतिविधि र जनजीवन सामान्य बनाउने बताएका थिए । असोज महिनाको अन्त्यसम्म एकतिहाई लक्षित जनसंख्यालाई खोप लगाउने भनिएकोमा ३२.६ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 


सरकारले ‘नेपाल पहिला’ परराष्ट्र नीति अबलम्बन गरेको र खोप कूटनीतिमा तुलनात्मक सफलता हात पारेको दाबी गरेको छ । ‘जनस्वास्थ्य संकटको विषम परिस्थितिमा ट्रेसिङ, टेस्टिङ, आइसोलेसन, खोप तथा खोपको भण्डारण र वितरणलाई प्रभावकारी बनाउनु चुनौतीपूर्ण थियो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भने, ‘कोभिड–१९ को थप उपचार सेवा विस्तारका साथै कोभिड बाहेकका (नन–कोभिड) बिरामीलाई पनि अस्पताल गएर उपचार गर्ने प्रबन्ध मिलाएका छौं ।’ 

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी मैत्री वातावरण निर्माण गर्न र आर्थिक स्थायित्व दिने काम भएको विषय उपलब्धिमा समेटेको छ । कोभिड–१९ प्रभावित व्यवसायलाई राहत, विपद् व्यवस्थापन र पूर्वतयारी, स्टार्टअप व्यवसायलाई प्रोत्साहन, विद्युत तथा सडक पहुँच विस्तार तथा सबै ठाउँमा इन्टरनेट सेवा पुर्‍याइएको सरकारको १०० दिने उपलब्धिमा उल्लेख छ । 

‘वैदेशिक रोजगारमा तथा देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्नेगरी कानुनको मस्यौदा तयार भएको छ,’ उपलब्धिमा भनिएको छ, ‘विद्युतीय भुक्तानी, विद्युतीय माध्यमबाट कर विवरण हेर्ने तथा भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।’ 

देउवा सरकार गठन भएको १०० दिनमा सरकारी कागजातको डिजिटल आर्काइभिङ्ग, दुर्गम क्षेत्रमा डिस्टेन्स लर्निङ्ग सेवा, प्राकृतिक विपत्तिमा तत्काल प्रतिकार्य (रेस्पोन्स), जटिल रोगहरू (क्यान्सर, मिर्गौला र स्पाइनल इन्जरी) बिरामीलाई मासिक ५ हजार रुपैयाँ, कोभिड–१९ महामारी प्रभावित भइ रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा काम गर्ने करिब ५ लाख अति विपन्न परिवारलाई प्रतिपरिवार एक पटकका लागि १० हजार रुपैयाँ राहत दिने घोषणालाई उपलब्धिमा समेटिएको छ । 

यसका साथै युवा विद्यार्थी लक्षित पढ्दै, कमाउँदै कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा, सातै प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माण शुरु, सरकारका विकास कार्यक्रम र परियोजनाबाट हजारौंलाई पूर्ण रोजगारी, भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको निर्माण तथा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दीर्घकालका लागि समाधान गर्न भूमि आयोग गठन गरी कार्य प्रारम्भ भएको १०० दिने उपलब्धिमा उल्लेख छ । 
त्यस्तै सोमबारको मन्त्रिपरिषद्को निर्णयबाट साफ च्याम्पियनसिप उपविजेता खेलाडीहरूलाई प्रोत्साहन स्वरूप जनही ५ लाख रुपैयाँ दिने घोषणालाई पनि उपलब्धिमा समेटिएको छ । 


Author

थप समाचार
x