सरकार

देउवाको आक्रोश

'परमादेशको सवाल उठाएर सबै न्यायाधीशको राजीनामा माग्‍नु गैरजिम्मेवारपूर्ण तर्क'

इकागज |
कात्तिक १०, २०७८ बुधवार १२:४८ बजे

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे । 


नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने पनि स्पष्ट पारे । 

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क समेत गरे ।  । उनले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईहरुलाई । हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरु छन–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धि सकेको थियो, तर कुरा उठाएका उठाएकै छन । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।  उनले नेपाली काँग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आव्हान गरे । 


Author

थप समाचार
x