सरकार

चन्द्रागिरी चित्लाङको ढुंगा व्यापार रोक्छौं : अर्थमन्त्री

इकागज |
कात्तिक १९, २०७८ शुक्रवार १४:१५ बजे

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘व्यापार’ का कारण भइरहेको ढिलासुस्ती अन्त्य गर्न तत्काल पहल चालिने पनि बताए ।

आफूले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम जारी राख्ने मन्त्री शर्माले उल्लेख गरे । ‘चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु’, मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु ।’


अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताए । यसैगरी गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वत्को सुरुवात गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरे । ‘११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ । गरिबहरूको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ’, उनले भने, ‘शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ । यस अभियानमा लाग्न सबैलाई आग्रह छ ।’

शङ्खधर साख्वालाई तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । त्यस्तै पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिइएको थियो ।


Author

थप समाचार
x