सरकार

नयाँ वर्षमा काठमाडौँवासीलाई मेलम्चीको पानी उपहारः मन्त्री चौधरी

इकागज |
कात्तिक २४, २०७८ बुधबार १८:९ बजे

काठमाडौँ - खानेपानी मन्त्री उमाकान्त चौधरीले नयाँ वर्षमा काठमाडौँवासीलाई मेलम्चीको पानी उपहार दिने बताएका छन् । उनले २०७९ सालको नयाँ वर्षमा शुभकामना र उपहार स्वरुप काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउने बताएका हुन् । 

आज काठमाडौँमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले बाढी र पहिरोले नामो निशाना मेटाएको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलका संरचनालाई अस्थायी रुपमा बनाएर काठमाडौँ पानी ल्याउने बताए । विज्ञहरूको टोलीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स रहेको अम्बाथान र पहिरोको मुहानस्थल भ्रेमाथाङको अध्ययन अनुगमन गर्दा तीनदेखि साँढे तीन महिनाभित्र अस्थायी संरचना बनाएर काठमाडौँवासीलाई पानी खुवाउन सकिने सुझाव दिएको स्मरण गर्दै मन्त्री चौधरीले नयाँ वर्षमा पानी खुवाउने आफ्नो योजना रहेको बताए । उनले भने, 'विज्ञहरूले तीन देखि साँढे तीन महिनामा पानी खुवाउन सकिने प्रतिवेदन दिएका छन्, मेरो नयाँ वर्षमा काठमाडौँवासीलाई पानी खुवाउने योजना छ ।' 


'त्यसका लागि 'फास्ट ट्रयाक'मा काम गर्नुपर्ने अवस्था रहेको र त्यसमा नीतिगत समस्या भने छ', मन्त्री चौधरीले भने । टेण्डर आव्हान गर्दा लामो समय लाग्ने उनको भनाइ थियो । 'फास्ट ट्रयाकमा काम गर्दा खरिद प्रक्रियाका लागि मन्त्रिपरिषद्‍बाट नीतिगत निर्णय हुनुपर्ने रहेछ', उनले भने, 'त्यसका लागि अर्थ मन्त्रालय र प्रधनमन्त्रीज्यूसँग कुरा भइरहेको छ ।' मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निकै चासो राख्नुभएको उनले सुनाए । 

मन्त्री भएपछि पहिलोपटक गत सोमबार चौधरी मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल र पहिरो सुरु भएको ठाउँको अनुगमनका लागि सिन्धुपाल्चोक पुगेका थिए । यसअघि पनि देशका विशिष्ट व्यक्तिहरू मेलम्ची मुहानस्थलको अनुगमनमा गएका थिए । तर हालसम्मपनि के-कसरी काम गर्ने भन्ने विषयमा मन्त्रालय र आयोजना दुवै अन्याेलमा छन् ।  

गत असार १ गते मेलम्ची खोलामा आएको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स ध्वस्त पारेको थियो । मेलम्चीबाट काठमाडौँ आउने सुरुङमार्गको दुई सय मिटरसम्म लेदो पसेको आयोजनाले जनाएको छ । सुरुङमा थप क्षति भने नभएको बताइएको छ । मेलम्ची खोलामा बाढी आउने एक दिन अगाडि नै मेलम्चीबाट काठमाडौँ आउने सुरुङमार्गमा पानी हाल्न बन्द गरिएकाले ठूलो क्षति नभएको आयोजनाको दाबी छ । 

मेलम्ची खानेपानी आयोजनाकाे हेडवर्क्स रहेको स्थानमा १५ मिटरसम्म अग्लो माटो थुप्रिएको छ । त्यसलाई सफा गरेर दुई सय मिटर सुरुङ सफा गरेर मेलम्चीको पानी सुरुङमा पठाउन सक्ने आयोजनाले जनाएको छ । सुरुङमार्गको अवस्था के कस्तो छ भन्ने विषयमा पनि सरकार र आयोजना दुवै अन्योलमा छन् ।

 बाढी गएको ५ महिना बितिसक्दा पनि मुहानस्थल जाने बाटोसम्म आयोजनाले खोल्न सकेको थिएन । खानेपानी मन्त्री जाने भएपछि हेलम्बु गाउँपालिकाले हतार हतारमा मुहानस्थलसम्म जाने बाटो बनाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । 


Author

थप समाचार
x