सरकार

एउटै मन्त्रीमण्डलमा राजेन्द्र पाण्डे र शालिकराम जमकट्टेल

इकागज |
कात्तिक २५, २०७८ बिहिवार २०:४९ बजे

काठमाडौँ– पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन एमाले नेता राजेन्द्र पाण्डे र माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष समेत रहिसकेका शालिकराम जमकट्टेल धादिङ एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन लडेका थिए । त्यतिबेला उनीहरूको सम्बन्ध मारामार थियो ।

पहिलो संविधानसभा निर्वाचनमा जमकट्टेलले पाण्डेलाई निर्वाचन क्षेत्रका अधिकांश स्थानमा छिर्नै दिएनन् । पहिलो संविधानसभा निर्वाचनमा पराजित भएर फर्केपछिउनले भनेका थिए, ‘जमकट्टेलका कार्यकर्ताले बाँसका भाटा र हतियार लिएर बसेका थिए, निर्वाचन क्षेत्रभर पुग्न पनि दिइएन । धेरै बुथहरू कब्जा गरियो । तरपनि यो धाँधलीलाई निर्वाचन पर्यवेक्षकले नदेख्नु दुःखद् हो ।’ उनले निर्वाचन धाँधलीपूर्ण भएको भन्दै निर्वाचन आयोगमा उजुरी पनि गरेका थिए । 


पाण्डे र जमकट्टेलबीचको उक्त तिक्ततापूर्ण सम्बन्ध लामै समय चल्यो । एमाले र माओवादीले अघिल्लो निर्वाचनमा सहकार्य गरेकाले उनीहरू दुवै प्रदेशसभाका उम्मेद्वार बनेर विजयी पनि भएका थिए । पाण्डे धादिङ १ (१) बाट र जमकट्टेल धादिङ १ (२) बाट विजयी भएका हुन् । 

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ–३ बाट पाण्डेलाई जमकट्टेलले पराजित गरेका थिए । जबकी धादिङको उक्त क्षेत्रमा पाण्डे प्रभावशाली थिए र उनले नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ को निर्वाचनमा विजयी भएका थिए भने पछि २०७० सालकै दोस्रो संविधानसभा निर्वाचनमा जमकट्टेललाई नै पराजित गरेका थिए ।

झापा आन्दोलनको समर्थन गर्दै राजनीतिमा लागेका पाण्डे र जमकट्टेलबीच २०६४ सालदेखिको तिक्ततापूर्ण सम्बन्ध प्रदेशसभामा पनि मधुर थिएन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको कार्यकालमा जमकट्टेल आन्तरिक मामिला तथा कानून मन्त्री थिए भने पाण्डे पार्टीभित्रै पनि प्रतिपक्षी थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गत वर्ष पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन सत्तारुढ नेकपाको दुई धार देखिएपछि ओली निकट मुख्यमन्त्री पौडेलको मन्त्रीमण्डलबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका थिए । 

सर्वोच्च अदालतको गत वर्ष फागुन २३ को  फैसलाले नेकपालाई पूवर्वत एमाले र माओवादी दुई पार्टी बनाइदिएपछि भने प्रदेशसभामा पनि त्यसको प्रभाव देखिएको हो । माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी स्थापना गर्न अग्रणी भूमिका निर्वाह गरेका नेकपा एसका उपाध्यक्ष पाण्डेलाई गठबन्धले मुख्यमन्त्रीमा समर्थन गरेपछि बागमती प्रदेशमा एमालेको किल्ला ढलेको हो । यससँगै धादिङका पाण्डे र जमकट्टेल दशकौं लामो तिक्तता अन्त्य भएको छ । पाण्डेको मन्त्रीमण्डलमा जमकट्टेललाई उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिएका छन् । 


Author

थप समाचार
x