सरकार

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

इकागज |
कात्तिक २८, २०७८ आइतबार १२:१२ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए । 

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राखे । समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो ।  प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे ।


संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ को महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकामा प्रशंसा गरे । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताए । 

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको जनाए । सभामा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सभामा शुभकामना व्यक्त गरेका थिए । 
 रासस


Author

थप समाचार
x