सरकार

नेपालको प्राथमिकता स्थायी शान्ति र दिगो विकासः  उपराष्ट्रपति पुन

इकागज |
मंसिर ३, २०७८ शुक्रवार १७:४६ बजे

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको आर्थिक, सामाजिक रुपान्तरण,समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु भएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित ग्लोबल युथ लिडरशीप समिट २०२१ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको अबको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु भएको बताएका हुन् । 


उनले नेपालको प्राकृतिक सौन्दर्यता पर्यटकहरुलाई देखाउन चाहेको भन्दै विभिन्न धर्मावलम्वीहरुका आस्थाका केन्द्रहरुलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न खोजिरहेको बताए । उपराष्ट्रपति पुनले सरकार देशभित्रका नदीनालाबाट जलविद्युत उत्पादन गरेर निर्यात गर्न, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर बन्दै औद्योगिक विकासमार्फत् युवाहरुका लागि रोजगारी सिर्जना गर्न खोजिरहेको बताए । उनले युवाका साझा समस्यालाई साझ ढंगले नै समाधान गर्नुपर्ने बताए । 

उपराष्ट्रपति पुनले भने, ‘युवाका साझा समस्याहरुलाई साझा ढंगले समाधान गराँै । समस्या र चुनौतिहरुको पहिचान र समाधानका लागि सहकार्यलाई अघि बढाउँ । अब नेपालको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु हो । हामी यसै अभियानमा अघि बढीरहेका छौँ, नेपालको प्राकृतिक सौन्दर्यता हामी पर्यटकहरुलाई देखाउन चाहन्छौँ र विभिन्न धर्मावलम्वीहरुका आस्थाका केन्द्रहरुलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न खोजिरहेका छौँ, देशभित्रका नदीनालाबाट जलविद्युत उत्पादन गरेर निर्यात गर्न पनि खोजिरहेका छौँ । कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर, औद्योगिक विकासमार्फत् युवाहरुका लागि रोजगारी सिर्जना गर्न खोजिरहेका छौँ ।’

उपराष्ट्रपति पुनले भोलिको विश्व, मानव जातीका आगामी दिन र देशको विकास कसरी गर्ने र हुने भन्ने बारे युवाहरुले जिम्मेवारी लिनुपर्ने बताए । उनले मानव जातीमा सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी युवाहरुकै काँधमा रहेको बताउँदै जलवायु परिवर्तनको असरलाई न्यूनिकरण कसरी गर्ने र विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्वको व्यवस्थापन कसरी गर्ने ? भोकमरी र गरिबीले आक्रान्त मानिसलाई के गर्ने ? विज्ञान र प्रविधिको विकासलाई कसरी नयाँ उचाईमा उठाउने भन्ने जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने बताए । 

उपराष्ट्रपति पुनले मानव जातीको कल्याण र सभ्य तथा आदर्श समाज निर्माणका लागि उत्कृष्ट योगदान दिन युवाहरु लगि पर्ने विश्वास लिएको बताए । मानव जातीलाई नयाँ आशा दिलाउने, नयाँ उत्साह पैदा गर्ने, नयाँ नयाँ खोज, आविष्कार गर्ने तथा इतिहासका हरेक परिवर्तनको नेतृत्व गर्ने युवाहरु नै भएको बताउँदै उनले युवाहरुको जोश, सुजबुझ र नेतृत्वबाट मात्रै इतिहासका हरेक परिवर्तन सम्भव भएको बताए ।  


Author

थप समाचार
x