सरकार

रामदेवलाई सद्‍भावना दूत बन्‍न मन्त्रीको प्रस्ताव

इकागज |
मंसिर ५, २०७८ आइतबार १३:१ बजे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ । 

आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव राखेका हुन् । 


मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिए । नेपाल बुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योग गुरुको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताए । 

योग गुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उनले विश्वास व्यक्त गरे । कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गरे ।

उनले भने – ‘उहाँलाई टुरिजम सेक्टरमा प्रमोशन गर्नका लागि ब्राण्ड एम्बेस्डरको लागि म उहाँलाई हार्दिक अनुरोध गर्न चाहान्छु । यहाँ चारदिने भ्रमणमा आउँदा यसले राम्रो म्यासेजपनि गएको छ विश्वभरमा प्रचार–प्रसार पनि भएको छ । नेपाल बुद्ध र सगरमाथाको देश भनेर पनि चिनिन्छ । हामीले मन्त्रालयको तर्फबाट जुन ब्राण्ड एम्बेस्डरका लागि अनुरोध गरेका छौँ । धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन् । हामीहरु स्वागत गर्छौ । यहाँ कोभिड धेरै कम छ । सबैले खोप लगाएका छन् । त्यसैले यहाँको पर्यटन क्षेत्रको प्रमोशन गरिदिनुहोला । आगामी दिनमा पनि यहाँलाई स्वागत गर्न पाईयोस् ।’

सो अबसरमा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए । उनले मन्त्रालयको प्रस्तावलाई गम्भिरतापूर्वक छलफल गरेर निर्णय लिने बताए । नेपाललाई समृद्ध बनाउन पतञ्जली योगपिठले गर्न सक्ने योगदानलाई कार्ययोजना बनाएर लागु गर्ने बताए । 

उाले भने, ‘नेपालको संस्कृतिलाई पुरा दुनियाँमा लिएर जान्छु, यहाँको मानिसलाई गौरव हुन्छकी यहाँको संस्कृति र प्रकृतिले समृद्धि बढीरहेको छ । हामीलाई दिएको प्रस्तावमा हामी गम्भिरतापूर्वक छलफल गरेर निर्णय गर्छौ । नेपालको एकता, समृद्धिको विकास गर्न पतञ्जली योगपिठले जे योगदान गर्न सक्छ, एउटा रुपरेखा बनाएर, लामो कार्ययोजना बनाएर हामी योगदान दिन्छौँ ।’

योग गुरु रामदेवले नेपाल र भारतका पूर्वजहरु साझा रहेको धारणा पनि व्यक्त गरे ।  


Author

थप समाचार
x