सरकार

जाजरकोट बस दुर्घटना

गम्भीर घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगञ्ज लगिँदै

इकागज |
मंसिर १२, २०७८ आइतबार ९:३५ बजे

फाइल फोटो

काठमाडौँ - जाजरकोट बस दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भएको छ । शनिबार राती नेपालगञ्जबाट गएको ना ६ ख २५५७ नम्बरको बस जाजरकोटको कुदुमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । २७ जना घाइते भएका थिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए । गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको उनले बताए । बाँकी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । चालकले राती बाक्लो हुस्सु लागेका कारण बाटो नदेखिदा मोडमा बस दुर्घटना भएको बताएको डीएसपी थापाले जानकारी दिए ।


यसैबीच, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जाजरकोट बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक वक्तव्य निकाल्दै मृत्तकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेको उपचारका लागि प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने पनि बताएका छन् ।

घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान तत्काल हेलिकोप्टरको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । साथै उनले कर्णाली प्रदेशमा चल्ने सार्वजनिक गाडीको जाँचलाई कडाई गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । 


Author

थप समाचार
x