सरकार

प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया सुरू

सुभाष कर्ण |
माघ ३, २०७८ सोमबार १६:४९ बजे

जनकपुरधाम – प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया सुरू भएकाे छ । स्थायी राजधानी जनकपुरधाम पारित भएपछि मधेश प्रदेश नामकाे पहिलाे प्रस्तावमा मतदान सुरु भएको हाे । तीन दलले संयुक्त रूपमा अघि सारेकाे मधेश प्रदेशको प्रस्तावकाे पक्षमा मतदान सुरु भएको प्रदेश सचिवालयले जनाएकाे छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान सुरु भएको हाे ।शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्न शैलेन्द्र कुमार यादवले पेस गरेको प्रस्तावमा मतदान भइरहेकाे छ ।


मधेश प्रदेशको प्रस्तावमा पहिलो मतदान प्रमुख प्रतिपक्षी दल लोसपाकी सांसद तथा पूर्व राज्यमन्त्री डिम्पल झाले गरेकी छिन्।  प्रदेश २ मा हाल १ सय ४ जना सांसद रहेकोमा दुई तिहाईका लागि ७० मतको आवश्यक छ भने आजकाे बैठकमा ९९ सदस्य उपस्थित रहेका छन्।

मधेश प्रदेशसँगै नामाकरणका लागि जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव पनि दर्ता भएको छ । मधेश प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x