सरकार

५८ वर्षअघि शहीद झाले भनेका थिए:

'आमा तिमी नरोऊ मुलुकमा गणतन्त्र आउँछ'

सुभाष कर्ण |
माघ १५, २०७८ शनिबार १८:६ बजे

जनकपुरधाम – नेपालकै पहिलो गणतन्त्रवादी शहीद प्रजातान्त्रिक योद्धा दुर्गानन्द झाको शहादतको ५८ वर्ष पुरा भएको छ । तर उनका पत्नी काशी देवी झाको कानमा त्यो आवाज गुँजिरहेको सासु सुकुमारी देवीलाई भनेको कुरा “आमा तिमी नरोऊ मुलुकमा एक दिन गणतन्त्र आउँछ, सबै नेपालीको अनुहारमा देखिएको खुसीले तिमीलाई आफ्नो छोराप्रति गर्व हुन्छ।” 

शहीद पत्नी झा ५८ वर्षअघि श्रीमानले भनेका कुरा सम्झदै भन्छिन्, 'फाँसीको पूर्वसन्ध्यामा हामी सासुआमा सुकुमारी देवीसँगै आफ्ना श्रीमानसँग भेटन त्रिपुरेश्वर स्थित केन्द्रीय कारागारमा भेटन गएका थियौं । सासुआमाले उहाँलाई रुँदै सम्झाउदै भनेकी थिइन्, छोरा तिमी सरकारको कुरा मानिलेऊ, सरकार समक्ष गलती स्वीकार गरे, आममाफी दिनु हुन्छ कुरा सुन्नमा आएको छ । तिम्रो बाहेक को छ मेरो दुनियामा, तिमी बाँच्यौं भने मेरो जीवनको सहारा हुनेछ।'


सासुआमाको त्यो कुरा सुनेर पनि उहाँले नमानेकाे बताइन् । उनले उहाँले हाँस्दा हास्दै भन्नु भयो, 'आमा तिम्रा लागि म एउटा मात्र सन्तान होइन, सबै नेपाली तिम्रो सन्तान नै हो । म आफ्नो स्वार्थका लागि होइन देशका लागि फाँसी चढन तयार छु । आमा तिमी नरोऊ मुलुकमा एक दिन गणतन्त्र आउँछ,सबै नेपालीको अनुहारमा खुसी देखिएको बेला तिम्रा यी छोराप्रति गर्व हुन्छ कि म शहीदको आमा हुँ।'

इकागजसँग कुरा गर्दै काशीदेवीले भनिन्, 'मुलुकमा त गणतन्त्र आयो, तर आफ्ना श्रीमानले सबै नेपालीको अनुहारमा खुसी देखिने गरी आएको छैन । मुलुक त अहिले पञ्चायतभन्दा पनि बढी क्रुर र भ्रष्टाचारमा लिप्त भएको छ, मेरो श्रीमानले यस्ता गणतन्त्रका लागि हाँस्दा हाँस्दै फाँसी चढेको थिएनन् । उहाँ सच्चा गणतन्त्रवादी नेता थिए, उनले त मुलुकमा सबैले स्वतन्त्रपुर्वक बाँच्न पाउन अधिकार पाओस, प्रत्येक नेपालीलाई गाँस, बाँस र कपासको व्यवस्था होस, देशैभरि विकासको लहर होस भन्नेसहितका गणतन्त्रको सपना देखेका थिए । तर अहिले गणतन्त्रको नाममा सत्ता र लुटतन्त्र मच्चिएको छ।'

काशीदेवी थप्दै भन्छिन्, 'मुलुकमा गणतन्त्र आएको १४ वर्ष बितिसक्यो तर राजनीतिक दलका नेता कार्यकर्ताबाहेक कुनै पनि नेपाली नागरिकलाई गणतन्त्रको आभाष भएको छैन, मुलुक अहिले पंचायतकालभन्दा पनि निकै पछाडि धकेलिएको छ, मुलुकको वर्तमान परिस्थिति हेर्दा लाग्छ गणतन्त्रका लागि उहाँले दिएको बलिदानी खेर गयो ।'

पञ्चायती व्यवस्थाबाट उन्मुक्तिसहित गणतन्त्रको माग गर्दै राजा महेन्द्र शाहमाथि जनकपुरधामको जानकी मन्दिरमा गरिएका बम प्रहारको आरोपमा २१ वर्षीय युवक दुर्गानन्द झालाई वि.सं. २०२० सालमा माघ १५ गतेका फाँसी दिइएको थियो ।

झालाई त्रिपुरेश्वर जेलको रूखमा दुई पल्ट झुण्ड्याउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्डलाई नै शिरोधार्य गरेका थिए । उहाँलाई फाँसी दिएपछि आफूहरुलाई जानकारी दिइयो तर शव दिइएन, पछि कुशको शव बनाएर अन्तिम संस्कार गरेको काशीदेवीले पुरानो सम्झना गर्दै भनिन् ।

प्रजातान्त्रिक आन्दोलनको क्रममा नेपाली कांग्रेसको योजना अनुरुप वि.सं. २०१७ सालमा तात्कालिन राजा महेन्द्र शाह चालेको निरंकुश कदमको विरुद्ध वि.सं. माघ १९ गतेका दिन उनीमाथि जनकपुर भ्रमणको क्रममा १८ वर्षीय युवक झाले कडा सुरक्षाकाबीच प्रहरीलाई चक्मा दिँदै जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा बम (ग्राइनेट) प्रहार गरेका थिए ।

घटना पश्चात उनी भारतको बिहारको उमगाउँमा भागेपछि सो घटनामा आरोपमा उनका आफन्त र कांग्रेसका नेता कार्यकर्तासहित ५६ जना व्यक्तिलाई पक्राउ गरियो । पक्राउ परेकाहरुलाई प्रहरीले यातना दिइरहेको थाहा पाएपछि उनी सहन नसकी तिनीहरुलाई छोडाउन सेना समक्ष आत्मसमर्पण गरेका थिए ।

पक्राउको भोलिपल्ट उहाँसहित अरविन्द ठाकुर र दलसिंह थापालाई जलेश्वर कारागारबाट सुन्धरा स्थित भद्रगोल कारागारमा पठाई उनीविरुद्ध राज्यद्रोहको मुद्दा चलाइयो । उनीहरुको मुद्दा हेर्न राजाको आदेशमा एक छुट्टै छानबीन आयोग न्यायीक समिति गठन गरियो । त्यति मात्र होइन त्यो बेला ब्राम्हणलाई मृत्युदण्ड दिने व्यवस्था कानुनमा नभएको कारण कानुन नै संशोधन गरियो ।

जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्छन्, ‘सरकारले बमकाण्डको अध्ययन गर्न राजा महेन्द्रको आदेशमा विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्च स्तरीय छानविन आयोग गठन गरियो । ती आयोगले दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव सहितको प्रतिवेदन दिएको थियो ।

त्यो बेला ब्राह्मणलाई मृत्युदण्ड नदिइने व्यवस्था थियो, राजा महेन्द्रले दुर्गानन्द झालाई पटक पटक भनियो गलती स्वीकर गरी माफी माग तर उहाँले मानेन । अन्ततः २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरी फाँसी दिइएको थियो ।

कांग्रेसले विर्से शहीद झालाई

शहीद दुर्गानन्द झा त्यो बेला नेपाली कांग्रेसका क्रान्तिकारी युवा नेता मध्येका एक थिए । जसले परिणाम थाहा हुँदाहुँदै राजा महेन्द्रमाथि बम प्रहार गर्ने जस्ता कार्य गरेका थिए । तर हाल नेपाली कांग्रेसले उनको बलिदानीलाई कदर गरेको छैन ।

२०४७ सालदेखि कांग्रेस पटक पटक सरकारमा गए तर झालाई शहीदसम्म घोषणा गराउन सकेन । न त कहिले पनि बलिदानी दिवस मनाए । पत्रकार नेपाली भन्छन्, '२०४७ साल अघिसम्म कांग्रेसले प्रत्येक वर्ष बलिदानी दिवस मनाउने गर्थे, हरेक कार्यक्रममा उहाँको तस्वीर राखी उहाँको योगदान बारे चर्चा गर्थे, तर सत्तामा आएपछि कहिले पनि याद गरेन। २०७२ सालमा गणतन्त्र घोषणका आठौं वर्षमा केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला झालाई मन्त्रिपरिषद्बाट शहीद घोषणा गरिएको थियो ।'

काशीदेवीको अवस्था
प्रथम गणतन्त्र शहीद पत्नी काशीदेवी झाको अवस्था अहिले निकै खराब रहेको छ । करिब ७४ वर्षीय काशीदेवी माइत, छोरी र भातिजमा आश्रित भएकी छिन्। वृद्धा अवस्था भएको कारण उनी प्रायः बिरामी नै रहने गर्छिन तर कुनैपनि राजनीतिक दल वा सत्ता पक्षले उनको हालचाल पनि सोध्न गएका छैनन् ।

काशीदेवीको आर्थिक गुजारा पुर्खौली एक/डेढ बिगहा रहेको जग्गाबाट भइरहेको छ । आर्थिक अवस्था जर्जर भएको कारण उपचारका लागिसमेत उनी जनकपुरमा बस्दै आएकी छोरी र काठमाडौमा बस्दै आएका भातिज डा. जिवेन्द्र झामा आश्रित छिन् ।

हुनत पहिलो संविधानसभामा तत्कालीन तमलोपाले शहीद पत्नी काशीदेवीलाई समानुपातिक सांसदसहित कानुन राज्यमन्त्रीसमेत बनाएको थियो । तर अहिले ती पार्टी राजपा हुँदै जसपापछि लोसपा भएपछि कोही उनको अवस्था सोधखोज गर्न पुगेका छैनन । जनकपुरधामस्थित शहीद दुर्गानन्द झा स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आएको छ ।

काशीदेवीले भनिन्, 'मन्त्री पदबाट हटेपछि न तमलोपा (अहिलेको जसपा) ले खोजेको छ न कांग्रेसले नै । तत्कालीन राजपाबाट शहीद झाको नाम भजाएर राजेन्द्र महतोले प्रतिनिधिसभाको चुनावसमेत जिते । तर उनले झाको नाममा प्रवेशद्वार बनाउन बाहेक केही गर्न सकेनन् ।

को थिए शहीद झा ?
जनकपुरबाट १४ किलोमिटर दक्षिण नेपाल–भारत सिमानामा रहेको हालको नगराईन नगरपालिकास्थित जटही गाउँमा देवनारायण झा र सुकमारी देवीको सन्तानको रुपमा वि.सं. १९९९ वैशाख १४ गतेका दिन शहीद दुर्गानन्दको जन्म भएको थियो । बाल्यकालमै उनका पिता देवनारायणको निधनपछि घरको एक्लो सन्तान भएकाले मेट्रिक पढ्दा पढ्दै २०१७ सालमा १४ वर्षीया काशीदेवी झासँग उनको विवाह भएको थियो ।

बुबाको निधनपछि झाको पालनपोषण आमा सुकमारी देवीकै रेखदेखमा भएको थियो भने गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो ।

एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा उनी लागेका थिए । घरमा एक्लै श्रीमती र वृद्धा आमा हुँदा आवश्यक हेरचाहको कमीले मृत बच्चा जन्मेको थियो । हाइस्कुलमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेको बेला नै उनी राजनीतिमा होमिएका थिए । राजनीतिमै अधिकांश समय बित्ने हुनाले श्रीमती काशीदेवीसित उनको भेट महिनामा एक दुई पटक मात्र हुने गरेकाे थियाे ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमविरुद्धमा कांग्रेसले सुरु गरेको आन्दोलनमा झाले प्रजातन्त्र हत्या गर्नेलाई नछाड्ने र मुलुकमा गणतन्त्र स्थापना गर्ने निर्णयसहित होमिएको थियो । निर्वासित जीवनका बेला कांग्रेस नेता सरोज कोइरालाको योजना अनुरुप २०१८ माघ १९ गतेका दिन राजा महेन्द्रमाथि बम प्रहार गरी साहसिक कार्य गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x