खाडी

अबुधाबी डायलगको छैठौँ मन्त्रीस्तरीय बैठकमा श्रम मन्त्री श्रेष्ठले राखेका यी हुन् पाँच धारणा

इकागज |
कात्तिक १५, २०७८ सोमवार ७:३२ बजे

दुबई- अबुधाबी डायलगको छैठौँ मन्त्रीस्तरीय बैठक सकिएको छ ।  बैठकमा नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा टोली अबुधाबी गएको थियो ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पाँच वटा विषयहरूमा आफ्नो धारणा राखेका थिए । वैदेशिक रोजगारीमा गइ स्वदेश फर्केका कामदारहरूलाई स्वदेशमा नै पुनःएकीकरण गर्न सहयोग गर्ने, स्वच्छ रुपमा कामदार भर्ना प्रकृया सुनिश्चित गर्न कामदार पठाउने मुलुक र प्राप्त गर्ने मुलुकबीच सहकार्य गर्ने, आप्रवासी श्रमिकहरूको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्ने, आप्रवासी श्रमिकले सिकेको सीपको पहिचान गरी उनीहरूलाई उपयुक्त काममा मात्र लगाउने र कामदारको न्यूनतम तलवमान बढाउने विषयमा ध्यान दिने मन्त्री श्रेष्ठले धारणा राखेका थिए ।


मन्त्री श्रेष्ठले आगामी २ वर्षको लागि अध्यक्ष राष्ट्रको जिम्मेवारी लिएको मित्रराष्ट्र पाकिस्तानलाई बधाइ दिँदै अध्यक्ष राष्ट्रले अबुधाबी डायलगमा उठाउने विषयमा समर्थन गर्ने र अन्य सदस्य राष्ट्रहरूबीच निरन्तर सहकार्य गर्ने कुरा व्यक्त गरे । सो अवसरमा उनले संयुक्त अरव इमिरेट्सका माननीय मानव संशाधन तथा इमिरिटाइजेशन मन्त्रीसँग शिष्टाचार भेट गरी द्विपक्षीय श्रम सम्बन्धमा विविध विषयहरूमा छलफल गरे । सो बैठकमा श्रीमान् सचिव सूर्यप्रसाद गौतमबाट मित्रराष्ट्र कतार, साउदी अरेबिया र मलेसिया सरकारका समकक्षीहरूसँग द्विपक्षीय श्रम सम्झौताका विषयहरूमा मैत्रिपूर्ण छलफल गरे । 

बैठकमा मन्त्री श्रेष्ठ, सचिव गौतम र उपसचिव डा. थानेश्वर भुसाल सहभागी थिए भने नेपाली राजदूतावास अबुधाबीबाट राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सेलर निर्मला थापाले सहभागिता जनाएका थिए ।


Author

थप समाचार
x