स्वास्थ्य

नीति तथा कार्यक्रम : स्वास्थ्यका कस्ता- कस्ता विषय समेटिए ?

इकागज |
जेठ ११, २०७९ बुधबार १२:५४ बजे

फाइल तस्बिर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा समावेश भएका योजनाका आधारमा सरकारले बजेट छुट्याउने गर्छ । 

तर, सरकारले यसपटक स्वास्थ्य मन्त्रालयका लागि बजेट घटाएको छ । आर्थिक वर्षका २०७८/०७९ लागि ७४ अर्ब रुपैयाँ बजेट विनियोजन हुने भएको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयलाई ७४ अर्ब रुपैयाँको सिलिङ बजेटको प्रस्ताव गरिसकेको छ । 


गत वर्ष सरकारले स्वास्थ्यको लागि सवा खर्ब रुपैयाँ बजेट छुट्टयाएको थियो । कोभिड-१९ महामारीको समयमा १ खर्ब १९ अर्ब रुपैयाँ बजेट तय भएको थियो । जसअन्तर्गत महामारीमा कोभिड खोप तथा नियन्त्रणमा रकम खर्च भएको थियो ।

 नीति तथा कार्यक्रममा रहेका स्वास्थ्यसँग सम्बन्धित १६ विषय:

- किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइनेछ। स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइनेछ।

- प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सामुदायिक माध्यमिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने ।

- प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेछ । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ।

- डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिनेछ । औषधोपचारका क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइनेछ। 

- स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानूनी व्यवस्थालाई थप बलियो बनाइनेछ।

- सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिनेछ । सबै अस्पतालमा सामाजिक सेवा एकाई स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। 

- पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिनेछ।

- ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। 

- जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइनेछ।

- सबै स्थानीय तहका स्वास्थ्य संस्थामा चालीस वर्षमाथिका नागरिकको वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिनेछ । 

- प्रदेशको सहभागिता र समस्यमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिनेछ।

- केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टिकृत परीक्षण सरल र सहजरूपमा हुने व्यवस्था मिलाइनेछ।

- सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिनेछ।

- विशिष्टीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित र आकर्षित गरिनेछ। देशभित्रका प्रयोगशालाहरूमा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाइनेछ।

- नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवं क्यान्सरलगायतका दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुन:स्थापना र परामर्श केन्द्र स्थापना गरिनेछ । नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गरिनेछ।
एक स्वास्थ्य रणनीति कार्यान्वयनमा ल्याई प्रतिजैविक औषधिको प्रतिरोधलाई न्यून गरिनेछ।

-आधारभूत र जीवनरक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गरिने । उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात प्रवद्र्धन गरिने छ। यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युत महसुलमा सहुलियत उपलब्ध गराइने सरकारको घोषणा छ।  

 


Author

थप समाचार
x