स्वास्थ्य

फ्रान्समा मंकीपक्सविरुद्धको खोप अभियान चलाइने

इकागज |
जेठ ११, २०७९ बुधवार २२:७ बजे

पेरिस- विश्वका धेरै देशमा फैलिएको मंकीपक्सविरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ ।  

फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मंकीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउँदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो ।  


फ्रान्समा यो घोषणा हुँदासम्म तीन जनामा मात्रै मंकीपक्सको सङ्क्रमण देखिएको र अब फैलिन सक्ने उच्च खतरा रहेको निश्कर्षसहित अभियान सुरु गरिएको अधिकारीहरूले जनाएका छन् । 

प्राधिकरणले जारी गरेको प्रेस वक्तव्यमा वयस्क र स्वास्थ्यकर्मीहरू यसको जोखिममा रहेकाले खोप पनि उनीहरूलाई केन्द्रित गर्ने उल्लेख गरिएको छ । 

सङ्क्रमित भएको व्यक्तिसँग ४ दिनदेखि १४ दिनसम्मको अवधिमा भौतिक सम्पर्क हुनु जोखिमपुर्ण भएकाले त्यही बेलामा खोप लगाउने व्यवस्था गर्न लागेको जनाइएको छ । 

प्राधिकरणका अधिकारीहरूले खोपको आवश्यकता परेको व्यक्तिलाई दुई वा तीन डोजको आवश्यकता पर्ने पनि जानकारी दिएका छन् । 

विश्वका धेरै देशमा यसको सङ्क्रमितहरू फैलिँदै गएपछि नयाँ त्रास सृजना भएको छ । कतिपय देशहरूले यसबारेमा सतर्कता अपनाउन थालिसकेका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x