स्वास्थ्य

काठमाडौँका विभिन्‍न स्थानका चार जनामा हैजा पुष्टि,  सतर्कता अपनाउन आग्रह

इकागज |
असार ८, २०७९ बुधबार १६:२७ बजे

काठमाडौँ- काठमाडौँका विभिन्‍न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । ती चारैजनाको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चार जनामा हैजा पुष्टिको जानकारी दिए । 

उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ । उनले भने, 'फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो ।'


विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेका कारण पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए । बागबजारका दुई जना १८ र २३ वर्षीया युवतीमा यही असार ५ गते र भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिहरूमा के कारणले हैजा भएको भन्‍ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयाँलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहेका फुयाँलले फोहोरको प्रकोप बढेर खानेपानी प्रदूषण भएर हैजा रोग देखिएको उल्लेख गरे । उनले बागबजारबाट पानीको तीन वटा नमुना संकलन गरेर राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।

फुयाँलका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानीको नमुना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले शंका गरे पनि परीक्षणको रिपोर्ट नआएसम्म केही भन्‍न नसकिने बताए । 'हैजा देखिएका ठाउँहरूमा गएर हैजा देखिएका व्यक्तिले के-के खाएका हुन् भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौँ,' स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, 'हामीले घर वरपरका छिमेकीसँग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन् भनेर अध्ययन गरिरहेका छौँ ।'

उनले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालेरै खाने गरेको बताए । असार २ गते चटपटे खाएपछि ति युवतीहरू उल्टी गर्नुका साथै पखाला पनि लागेर बिरामी परेका थिए । 

प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको जनाए । स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदूषित खानेकुरा तथा झिँगा भन्केका खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत सुरु गरेको उनले जानकारी दिए ।

यस्तै महिला स्वास्थ्य स्वयंसेविकाले पनि खानेपानीलाई शुद्धीकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उनले बताए । कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी बोक्ने ट्याङ्कर व्यवसायी र जार व्यवसायीसँग पनि खानेपानी शुद्धीकरण गरेर मात्र वितरण गर्न भनेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ । रासस


Author

थप समाचार
x