स्वास्थ्य

हैजा बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह

इकागज |
असार १४, २०७९ मगलवार १५:२ बजे

फाइल फोटो

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । 

मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए । 


उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धीकरण गरेर र उमालेर खान मात्र अनुरोध गरेका छन् । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको छ । 

झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ । यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ । 

पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण झाडापखलाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ । यस्तै खान पिउन समेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा पनि अस्पताल लैजान भनिएको छ । रासस


Author

थप समाचार
x