स्वास्थ्य

'गाउँमा डाक्टर जानै मान्दैनन्'

इकागज |
असार १६, २०७९ बिहिवार १६:२० बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्‍न नसकेको बताएका छन् ।

बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् । उनले अहिले देशका विभिन्‍न जिल्लाहरूबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरेपनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्‍चितता हुन नसकेको जिकिर गरे ।


मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको दाबी गरे  । उनले सबै स्वास्थ्यकर्मीहरूले जुन कुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्‍ने मानसिकताको विकास गर्न जरूरी रहेको उल्‍लेख गरे । अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको उनको भनाइ छ । 

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूको जुन कुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्‍ने विश्‍वास व्यक्त गरे ।


Author

थप समाचार
x