स्वास्थ्य

आशीर्वाद दिने, कोभिड-१९ लिने नगरौं

डा. रवीन्द्र पाण्डे |
असोज २८, २०७७ बुधबार ११:१७ बजे

काठमाडौंमा कोभिड-१९ संक्रमण समुदायमा फैलिइसकेको छ । यसको गति दिन प्रतिदिन बढ्दो छ । परिक्षण सुस्त भएकाले तथ्यांकमा देखिएको भन्दा दश गुणा बढी संक्रमित उपत्यकामा छन् । यो अवस्थामा हामी सबै जना उच्च जोखिममा छौँ । त्यसैले, अत्यन्त जरुरी काम नपर्दासम्म घरबाहिर निस्किनु हुँदैन  । जरुरी काम पर्‍यो भने पनि जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र निस्किनुपर्छ । मास्क लगाइदिएको जस्तो गर्ने होइन ।

मुख र नाक ढाकिनेगरि राम्रोसँग लगाउनुपर्छ । दशैँका बेला किनमेलको लागि भनेर भिडभाड गरिन्छ । यसले कोभिड-१९ संक्रमण बढाउने सम्भावना धेरै हुन्छ । चाडपर्व भनेको अर्को वर्ष पनि आउँछ । यो वर्ष आफू सुरक्षित भएर बस्नु नै चाडपर्व मनाउनु हो ।


गाउँ जानैपर्छ र ? 
दशैँमा धेरै मानिसहरु गाउँ जान्छन् । गाउँ जान बस चढ्नैपर्छ । स्वास्थ्य मापदण्ड पूरा नगरी बसमा चढ्दा संक्रमित हुन सकिन्छ । एकठाउँबाट अर्को ठाउँमा जाँदा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । क्वारेन्टाइनमा बस्ने समय छैन भने गाउँतिर नजादा राम्रो । जहाँ हो त्यहि बसेर दशैँ मनाउँदा राम्रो । अहिले प्यासेन्जर छैनन् । खाली बसहरु गाउँतिर गइरहेका छन् । यो बेला कोहि गाउँ जाँदैनन् । दशैँको मुखमा भिडभाड गरेर जाँदा संक्रमणको जोखिम हुन्छ ।

काठमाडौँमा रोजगारी गुमाएका, कमाइ थोरै भएका र विद्यार्थीहरु दशैँमा गाउँ जाँदै हो भने उनीहरुले यो जाडो गाउँमै कटाएको बेस हुन्छ । यो सबैभन्दा बुद्धिमानी निर्णय हो । प्रतिकूल अवस्थामा मानिसले मात्र नभएर हरेक अन्य प्राणीले पनि आफ्नो रक्षा गर्छन् । आफ्नो रक्षा गर्नको मौसम अनुसार जनावरहरु पनि एक ठाउँबाट अर्को ठाउँ जान्छन् ।

एकठाउँको मानिसले अर्को ठाउँको मानिसलाई संक्रमण सार्न सक्छ । यो बेलामा आवतजावत पटक्कै गर्नुहुँदैन । बसमा यात्रा गर्नै परे पनि मास्क, फेस सिल्ड लगाउनुपर्छ । बेलाबेलामा हात स्यानिटाइज गर्नुपर्छ । बस जहाँ रोक्छ त्यहीको होटलहरुमा गएर खानेकुरा खानुहुँदैन । सकभर खानेकुरा आफैँ बोकेर लैजानुपर्छ । यातायात व्यवसायीहरुले पनि आफ्ना कर्मचारीलाई पीसीआर टेस्ट गरेर मात्र काममा लगाउनुपर्छ । यदि कसैलाई रुघाखोकी लागेको, ज्वरो आउला जस्तो भएको छ भने यो वर्ष हामी बाहिर जाने कष्ट नगरौँ । ठेलम्ठेल गरेर गाउँ जानुभन्दा पनि इमेल र इन्टरनेटको भरपूर प्रयोग गरेर शुभकामना र आशिर्वादहरु आदानप्रदान गरौँ । तर, पहिला जस्तै सप्तमीमा गाउँ जाने दशमीमा टिका लगाउने र फर्किने गर्‍यौँ भने हामीले आफ्नो मात्र नभएर अरुका लागि पनि खतरा मोल्ने काम गरिरहेका हुन्छौँ ।

गाउँमा शहरबाट आएका मानिसहरुलाई सबैले खुला ह्ृदयले स्वागत गर्नुपर्छ । तर, उनीहरुसँग भेटघाट गर्दा मास्कको प्रयोग गर्ने दूरी कायम गर्नेनजस्ता कुरामा ध्यान दिनुपर्छ । संक्रमण बोकेर आएका हुन सक्छन् भन्ने कुरामा ध्यानमा दिनुपर्छ । स्थानीय निकायहरुले पनि यो वर्षको दशैँमा चिया पसलमा भट्टीहरुमा हुने भिडभाडमा नियन्त्रण गर्नुपर्छ ।

काठमाडौँमा रोजगारी गुमाएका, कमाइ थोरै भएका र विद्यार्थीहरु दशैँमा गाउँ जाँदै हो भने उनीहरुले यो जाडो गाउँमै कटाएको बेस हुन्छ । यो सबैभन्दा बुद्धिमानी निर्णय हो । प्रतिकूल अवस्थामा मानिसले मात्र नभएर हरेक अन्य प्राणीले पनि आफ्नो रक्षा गर्छन् । आफ्नो रक्षा गर्नको मौसम अनुसार जनावरहरु पनि एक ठाउँबाट अर्को ठाउँ जान्छन् । सर्पहरु प्रतिकुल मौसमको बेलामा दूलोभित्र लुकेर आफूलाई बचाउँछन् । काठमाडौँमा महामारी फैलिरहेको गाउँ गएको मानिस उतै बस्नु भनेको आफ्नो रक्षा गर्नु हो । अहिले काठमाडौँमा संक्रमित भइहालियो भने पनि उपचार गराउने ठाउँ छैनन् । ठूल्ठूला अस्पतालमा एउटा बेड पनि खाली छैन ।

आर्शिवाद लिने, कोभिड-१९ नदिने
दशैँमा टिका लगाउने भनेको मान्यजनसँग हो । मान्यजन भनेको हाम्रा आमा, बुबा, हजुरआमा, हजुरबुबा हुन् । उनीहरुलाई बुढेसकालले छोइसकेको हुन्छ । बुढेसकालका मानिसहरुलाई कोभिड-१९को उच्च जोखिम हुन्छ । आर्शिवाद लिने चक्करमा कोभिड-१९ दिएर आउन सक्छौँ । यो वर्षको दशैँमा मान्यजनको स्वास्थ्यलाई ध्यानमा राखेर भए पनि उनीहरुभन्दा टाढा भएर चाडपर्व मनाउनुपर्छ । उनीहरुसँग दूरी कायम गर्नु नै यो वर्ष आशिर्वाद लिए सो-सरह हो ।

यो दशैँ सबैले आफ्नो घरभित्रका परिवारसँग बसेर मनाउनुपर्छ । धेरै ठाउँमा टिका थाप्न हिँड्नुहुँदैन । टिका लगाउने र थाप्ने दुबैले मास्कको प्रयोग गर्नुपर्छ । पहिलाका वर्ष जस्तै निदारमै टिका लगाइदिनुपर्छ भन्ने छैन । हातमा टिका दिएर पनि दशैँ मनाउन सकिन्छ । दशैँमा धेरै ठाउँमा मेला, हाटबजारहरु लगाउने चलन छ । यो वर्ष त्यस्ता हाटबजारहरुलाई बेवास्ता गरेर घरमै बस्नुपर्छ । त्यस्तै, यो वर्ष खानपानको लागि आफन्तलाई बोलाउनु भनेको कोभिड-१९ बोलाउनु सरह हो । यो पटक पर्व समुदायमा होइन घरभित्र मनाउनुपर्छ ।

हरेक व्यक्तिले आफ्नो तर्फबाट व्यक्तिगत योगदान गरेन भने यो महामारी नियन्त्रणमा आउँदैन । हामी सुरक्षित छौँ तर, हामीले किनमेल गर्ने ठाउँ सुरक्षित छैन भने त्यहाँबाट हामीलाई कोभिड-१९ सर्छ । महामारीमा हरेक व्यक्तिले एकअर्कालाई सहयोग गर्नुपर्छ । आफूलाई नसरोस् भनेर हामी जति सजग हुन्छौँ अरुलाई नसरोस् भनेर पनि उत्तिकै सजग हुनुपर्छ । (जनस्वास्थ्य विज्ञ पाण्डेसँग सृजना खड्काले गरेको कुराकानीमा आधारित ।)


Author

डा. रवीन्द्र पाण्डे

पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।


थप समाचार
x