स्वास्थ्य

महानगरको प्याड दिने कार्यक्रम बिचमै गायब

काठमाडौँमै महिनावारी हुँदा स्कुल छाडेर भाग्‍छन् विद्यार्थी

अतिन आचार्य |
असार २१, २०७९ मंगलबार १२:१० बजे

काठमाडौँ- झरना सापकोटा काठमाडौँस्थित भीमसेन गोला माध्यमिक विद्यालयमा पढ्छिन् । कक्षा ६ मा अध्ययनरत उनले दुई वर्षअघि पहिलोपटक विद्यालयबाट 'स्यानिटरी प्याड' पाइन् । विद्यालयले उनलाई एक वर्षसम्म प्याड दियो । प्याड पाउँदा उनको मुहारमा खुसी झल्किएको थियो । तर त्यो खुसी धेरै टिकेन । त्यसपछि उनले प्याड पाउन छाडिन् ।

विद्यालयले उनलाई प्याड नदिएको दुई वर्ष बढी भयो । आफ्नो खर्चले हरेक महिना प्याड खरिद गरिरहेकी छिन् । जब प्याडको आवश्यकता पर्‍यो तब उनले विद्यालयले दिएको भन्दा पनि आफैँले खरिद गरेर प्रयोग गर्न थालेकी छन् । 


संघीय सरकारको निर्णयअनुसार स्थानीय तहले प्याड वितरण गर्न थालिसकेका छन् । तर, काठमाडौँ महानगरले एक वर्ष मात्र सामुदायिक विद्यालयलाई प्याड उपलब्ध गरायो । त्यसयता महानगरले विद्यालयमा प्याड उपलब्ध गराउन सकेको छैन । 

'विद्यालयमा आफूलाई अप्ठयारो हुँदा विद्यालयले प्याड छैन भन्छन्,' उनले भनिन्,' आफूले खाजा खान छुट्याएको पैसाले प्याड किनिरहनु परिरहेको छ ।' 

विद्यालयमा प्याड नहुँदा कक्षाबाट घर जानुपरेको समेत उनको भोगाइ छ । प्याड दिए कक्षा छाडेर जानु नपर्ने उनको भनाइ छ । महिनावारी हुँदा तीन दिनसम्म कक्षामा उपस्थित हुन नसक्‍ने उनले बताइन् ।

बजारमा पाइने स्यानिटरी प्याडको मूल्य ५० रुपैयाँ पर्ने गरेको उनको भनाइ छ । विद्यालयबाट प्याड पाउने भएमा आफ्नो लागि आवश्यक कापी र कलम खरिद गर्न सक्ने उनले बताइन् । बजारमा मुख्यगरी, ज्यास्मिन, सोफी, स्टे फ्रि र व्हीस्पर जस्ता कम्पनीका प्याडहरू पाइने गरिएको छ । प्याडको बजार मूल्य प्रति प्याकेट ४० रुपैयाँदेखि माथि १५५ रुपैयाँसम्मको छ ।

झरनाको जस्तै संरचना राईले पनि समस्या भोग्‍ने गरेकी छन् । उनलाई विद्यालयले कोभिड-१९ महामारी अघि प्याड उपलब्ध गराएको थियो । त्यसयता प्याड नपाएको उनले गुनासो गरिन् ।

'स्यानिटरी प्याड नहुँदा हामीलाई पढ्न गाह्रो भएको छ,' विद्यालयमा प्याड नहुँदा उनले भोगेको समस्या सुनाउँदै भनिन्,' महिनाको ८ देखि १० दिन विद्यालयमा अनुपस्थित हुनुपर्ने बाध्यता छ । आफ्नो लागि छुट्याएको खर्चसमेत प्याडमा खरिदमा गइरहेको छ ।'

तीन-चार पटक मात्र प्याड पाएको उनले जानकारी दिइन् । एकपटकमा दुई प्याड पाउने गरेको उनको भनाइ छ । विद्यालयले प्याड उपलब्ध गराएमा अभिभावकले घर खर्चका लागि राखेको पैसासमेत बचत हुने उनले सुनाइन् । विद्यालयले प्याड नदिँदा आर्थिक समस्या बढ्न थालिसकेको उनले दुःखेसो पोखिन् ।

विद्यालयका प्रधानाध्यापक गणेश राईले प्याड प्रयोग गर्ने विद्यार्थीहरू करिब ८० जना रहेको उनले जानकारी दिए । विद्यार्थीले प्याड माग गर्दा विद्यालयले दिन नसकेको उनले स्वीकार गरे । विद्यालयमा करिब तीन सय विद्यार्थी छन् ।

विद्यालयमा छात्राहरू महिनावारी हुँदा सोही दिन विद्यालयको कक्षा छाडेर जाने गरेका छन् । महानगरले समयमा प्याड उपलब्ध गराएको भए बीचमा कक्षा छाडेर जानुपर्ने बाध्यता विद्यार्थीलाई आइ नपर्ने उनको ठहर छ ।

विद्यालयमा कक्षा ६ देखि प्याड प्रयोगकर्ताहरू रहेको प्रधानाध्यापक राईले जानकारी दिए ।  महिनामा एक छात्रा ८ देखि १० दिन विद्यालयमा उपस्थित हुन सक्दैनन् । महानगरको शिक्षा विभागले पनि कक्षा ४ देखि महिनावारी हुने विद्यार्थीको तथ्यांक राखेको छ ।

' हामीले पहिलो वर्ष सहजै विद्यार्थीलाई प्याड दिए पनि दुई वर्षदेखि महानगरले नदिएकाले दिन सकेका छैनौँ,' उनले भने,' अहिले विद्यालयको आफ्नै स्रोतबाट प्याड दिने गरेका छौँ ।' महानगरको शिक्षा विभागमा समेत खबर गरिसकेको उनले जानकारी दिए ।

विद्यार्थीले हरेक दिन प्याड सोध्‍न आए पनि छैन भन्‍नुपर्ने बाध्यता रहेको राईले प्रस्ट पारे । कोही बेला स्टक रहेमा दिन्छौँ नत्र भने विद्यार्थीलाई दिन नसकेको उनले जानकारी दिए । 'महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्याड उपलब्ध गराउने घोषणा गर्‍यो तर, विद्यालयलाई दिन सकेको छैन,' महानगरले प्याड उपलब्ध नगराएपछि उनले गुनासो सुनाए,' महानगरले समयमा बजेट र प्याड पठाएको भए अभिभावकको खर्च बचत हुन्थ्यो ।'

सरकारले दुई वर्ष अघिदेखि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको छ । स्थानीय तहले पनि दुई वर्षदेखि स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको छ । सोही अनुसार सरकारले तोकेको मापदण्डअनुसार महानगरले सामुदायिक विद्यालयले प्याड वितरण गर्दै आएको छ ।

काठमाडौँ महानगरभित्र ८९ वटा सामुदायिक विद्यालय छन् । महानगरको पछिल्लो तथ्यांक अनुसार कुल प्याड प्रयोगकर्ता विद्यार्थीको संख्या १९ हजार ८५६ छात्रा छन् । सामुदायिक विद्यालयका कक्षा ४ देखि १२ सम्मका छात्राले पाउने गरेको भए पनि केही समयदेखि यता उनीहरूले विद्यालयबाट सहजै पाउन सकेका छैनन् । 

शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले महानगरभित्र प्याड प्रयोगकर्ताको संख्या करिब २० हजार बढी रहेको उनले बताए । तथ्यांक अनुसार केही छात्राको संख्या बढेको पनि हुन सक्ने उनको भनाइ छ ।

विद्यालयका शिक्षकहरूले स्यानिटरी प्याडको माग गरिरहेको सुवेदीले बताए । महानगरपालिकाले प्याड खरिदका लागि टेण्डर आह्वान गरे पनि अदालतले 'स्टे अर्डर' गरेकाले थप प्याड खरिद गर्न नसकिएको उनले जानकारी दिए । महानगरले टेण्डर आह्वान गर्न नसके पनि निश्‍चित बजेट विनियोजन गरेर भए पनि विद्यालयलाई प्याड उपलब्ध गराउन उनले माग गरे ।

आयातकर्ताले गुणस्तरहीन सामग्री ल्याएकाले विद्यालयलाई प्याड दिन नसकेको उनले बताए । कोभिडभन्दा अगाडि दिएका प्याड केही विद्यालयमा स्टक राखेकाले केहीले दिँदैछन् । विद्यालयले आफ्नो स्रोतबाट खरिद गरेर विद्यार्थीलाई दिने गरेको उनले जानकारी दिए ।

'प्रत्येक विद्यालयका शिक्षकले प्याड नपाएकाले गुनासो गर्न थालेका छन्,' सुवेदीले भने,'  यस्ता प्राविधिक कारणले विद्यार्थीको पढाइमा असर पुग्‍न थालिसकेको छ । विद्यालयले प्याड दिएमा छात्राले बीचमा पढाइ छाडेर जाँदैन थिए ।'

पहिलो पटक २०७६ मा महानगरले सामुदायिक विद्यालयलाई प्याड वितरण गरेको थियो ।  महानगरले दोस्रो वर्ष २०७७ सालमा टेण्डर आव्हान गरेर प्याड खरिद गर्‍यो । 'हेल्पिङ मल्टी प्रपोज'ले प्याड ल्याउने जिम्मा पाएको थियो ।

मल्टी प्रपोजले आयात गरेको  'प्याड' गुणस्तरहीन रहेकाले महानगरले रोकेको थियो । उक्त प्याड गुणस्तर निजीको ल्याब र सरकारी गुणस्तर नापतौल विभागमा परीक्षण गर्दासमेत कच्चा भेटिएको थियो । 'हेल्पिङ'ले सबै प्याड कच्चा ल्याएकाले प्रयोगमा ल्याउने अनुमति पाएन ।

महानगरले पुनः गत वर्षको फागुन ५ गते प्याड आयात लागि टेण्डर आव्हान गर्‍यो । तर, मल्टी प्रपोजले टेण्डर आव्हान रोक्न हालेको निवेदनलाई उच्च अदालतले चैत ४ गते प्रक्रियालाई अगाडि नबढाउन 'स्टे अर्डर' दिएको थियो ।

अदालतले आदेश जारी गरेकाले तत्कालै खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको महानगर जनाएको छ । अदालतले अर्को आदेश जारी नगरेसम्म प्याड खरिदका लागि महानगरले प्रक्रिया अगाडि बढाएको छैन । प्याड खरिदका लागि १ करोड ३५ लाख बजेट विनियोजनसमेत गरेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x