स्वास्थ्य

कोभिड संक्रमितलाई घर पठाउनुपर्ने बाध्यता

हस्तान्तरण विवादले सञ्चालनमा आएन 'होल्डिङ सेन्टर'

दीपक उपाध्याय |
साउन २६, २०७९ बिहिवार १३:० बजे

कैलाली - कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार श्य्याको सुविधा सम्पन्न होल्डिङ सेन्टर निर्माण सम्पन्न भएता पनि सञ्चालनमा अन्योल देखिएको छ । 

संघीय सरकारको लगानीमा निर्माण भएको होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने भन्ने कुराकै टुङ्गो लाग्न नसकेपछि सञ्चालनमा अन्योल देखिएको हो । 


२८ करोड ८१ लाख १२ हजार रुपैयाँ लगानीमा बनेको होल्डिङ सेन्टर सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वा धनगढी उपमहानगरपालिकालाई दिने भन्ने कुराको टुङ्गो लाग्न सकेको छैन । 

‘कसलाई दिने भनेर छलफल भए पनि टुङ्गो लागेको छैन’, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने,‘अब केही दिनभित्रै यसको निर्णय हुन्छ ।’ 

कोरोना महामारीका क्रममा गौरीफन्टा नाका भएर भारतबाट फर्केकाहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले ठूलो लगानीमा होल्डिङ सेन्टर बनाइएको हो । जसमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा कोठाका साथै पर्याप्त खुला ठाउँ रहेका छन् । 

२०७८ असार ३ मा त्यसको ठेक्का भएको थियो । हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएर निर्माणको काम गरेको छ । अनुगमन र व्यवस्थापनको कार्य भने धनगढीस्थित नेपाली सेनाको भवानी दल गणले गरेको थियो । 

२०७८ भदौ मसान्तमै होल्डिङ सेन्टर निर्माण सम्पन्न गर्नु पर्ने समयावधि रहे पनि तोकिएको समयमा निर्माणको कार्य पूरा हुन सकेन । गएको जेठमा निर्माणको सबै काम पूरा भएको निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका इन्जिनियर विक्रम गैरेले जानकारी दिए । 

‘हामीले सबै काम जेठमा नै सम्पन्न गरिसकेका छौं’, उनले भने, ‘तर, हस्तान्तरण भने भएको छैन ।’ कसलाई हस्तान्तरण गर्ने भन्ने टुङ्गो नलागेकाले हस्तान्तरण नभएको गैरेले बताए । निर्माण कम्पनीले होल्डिङ सेन्टर निर्माणको सम्पूर्ण भुक्तानी लिइसकेको छ । 

होल्डिङ सेन्टरलाई सामुदायिक अस्पताल बनाउन धनगढी उपमहानगरपालिकाको कार्यालयले माग गरेको छ । यसका लागि प्रस्ताव भए पनि ठोस निर्णय भने भएको छैन । सकेसम्म चाँडै निर्णय आउने धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए । 

‘सामुदायिक अस्पताल सञ्चालन गर्ने भनेर धनगढी उपमहानगरपालिकाले प्रस्ताव अगाडि बढाएको छ’, उनले भने,‘निर्णय भने भइसकेको छैन ।’ अहिले फेरि कोभिड संक्रण बढेको छ । तर, संक्रमित व्यवस्थापनका लागि निर्माण गरिएको होल्डिङ सेन्टरमा भने ताल्चा लागेको छ । होल्डिङ सेन्टर हस्तान्तरण नै नभएपछि अहिले त्यसको रेखदेख नेपाली सेनाले गरिरहेको छ ।

बढ्दै कोभिड
पछिल्लो समय भारतबाट फर्कने नेपालीहरूमा कोभिड–१९ संक्रण बढ्दै गएको पाइएको छ । गौरीफन्टा नाका भएर भारतबाट फर्केकाहरूमा कोभिड–१९ को संक्रण देखिएपनि उनीहरूलाई राख्नका लागि क्वारेन्टिनको व्यवस्था नहुँदा संक्रमण फैलिने जोखिम बढ्दै गएको नाकामा खटिएका स्वास्थ्यकर्मी गणेश साउँदले बताए । उनले भारतबाट आउने नेपालीहरूमा दैनिक कोभिड–१९ पोजिटिभ देखिए पनि राख्ने व्यवस्था नहुँदा सोझै घर पठाउनु परेको बाध्यता रहेको बताए ।

कोभिड–१९ पोजिटिभ देखिएकाहरूलाई घरमै होम आईसोलेसनमा बस्ने, सामाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाईजरको प्रयोग गर्ने लगायतका कुराहरूको बारेमा जानकारी दिने गरेको बताउँदै साउँदले घरसम्म जानका लागि सार्वजनिक यातायातको प्रयोग गर्नेहुँदा जोखिम भने रहेको बताए ।

गत असारदेखि फाट्टफुट्ट रूपमा देखिएको कोभिड–१९ पोजिटिभका केशहरू श्रावणयता दैनिक रुपमा बढ्दै गैरहेको साउँदले बताए । उनले श्रावण १ गते देखि २५ गतेसम्म नेपाल भित्रिएका ४ हजार ५७५ जनामध्ये ३ हजार ८० जनाको परीक्षण गरिएकोमा १५३ जनामा कोभिड–१९ पोजिटिभ देखिएको बताए । 

कोभिडसंगै एचआईभी, मलेरिया र डेंगुको समेत परीक्षण गर्दै आइरहेको बताउँदै साउँदले ६ जनामा एचआईभी, ५ जना मलेरिया र १ जनामा डेंगु पोजिटिभ देखिएको बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x