स्वास्थ्य

गाउँमै सेवा पाउँदा मक्ख

इकागज |
साउन ३१, २०७९ मगलवार ११:७ बजे

बागलुङ - बागलुङ नगरपालिका–११ रायडाँडा निवासी खगेश्वर उपाध्यायका श्रीमती र दुई छोरा अशक्त छन् । बौद्धिक अपाङ्गताबाट गुज्रिरहेका उनीहरूको सुसार र लालनपालनको अभिभारा ६७ वर्षीय उपाध्यायको काँधमा छ । 

दुःखजिलो गरेर परिवारको गुजारा धानिरहेका उनी आइतबार नगरपालिकाले आयोजना गरेको ‘सेवा प्रवाह घुम्ती शिविर’मा भेटिए । अपाङ्गता परिचयपत्र बनाउन श्रीमती जमुना, छोरा मित्रप्रसाद र लोकनाथलाई साथै लिएर उपाध्याय शिविरमा पुगेका थिए । 


वडा कार्यालय परिसरमै चलेको शिविरबाट सेवा लिएपछि उनले भने, 'गाउँमै सेवा पाउँदा खुसी लागेको छ, नत्र जम्मैलाई बोकेर बजार जानुपथ्र्यो ।' घरकै तीन–तीन जना अशक्त सदस्यलाई लिएर नगरपालिका धाउनुपर्ने बाध्यता टरेपछि उनी दङ्ग देखिन्थे ।

त्यत्ति कामको लागि उपाध्यायले रायडाँडादेखि सदरमुकाममा रहेको नगरपालिका कार्यालय आउजाउ गर्नुपरेको भए धेरै खर्च र सास्ती व्यहोर्नुपथ्र्यो । सोही वडाका शेरबहादुर थापा पनि दुई अपाङ्गता भएका छोरीलाई परिचयपत्र दिलाउन शिविरमा पुगेका थिए । 

सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने उद्देश्यले नगरपालिकाले शिविर सञ्चालनमा गरेकामा उनले खुसी व्यक्त गरे । 'परिचयपत्रका लागि गाडी नै रिर्जब गरेर बागलुङ जानुपथ्र्यो, शिविर आएपछि सबैलाई सुविस्था मिलेको छ, खर्च, दुःख केही झेल्नुपरेन', उनले भने । 

थापाकी २३ वषीया छोरी यमुना र १६ वर्षीया रेनुकामा बौद्धिक अपाङ्गता छ । दुवैले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका छन् । बागलुङ–१० भकुण्डेकी ७० वर्षीया तुलसी विकले सोमबार गाउँमै चिकित्सक भेट्न पाइन् । वडामा सञ्चालित शिविरबाट निःशुल्क स्वास्थ्य जाँच र औषधि पाएपछि विक प्रफुल्ल देखिन्थिन् ।

'छातीको समस्या भएर पोखराको अस्पतालमा दस दिन बसेँ, अहिले यहाँ देखाउँदा डाक्टरले सबै ठिक छ भन्नुभएको छ, औषधि पनि दिनुभएको छ, अब पोखरा जान मन छैन', उनले भनिन्, 'औषधि लिन पनि कहाँकहाँ जानुपथ्र्यो, अहिले यही पाइयो, खुसी लागेको छ ।' 

उपाध्याय, थापा र विक मात्र होइन घरदैलोमै नगरका सेवा पाउँदा गाउँका सबै मक्ख छन् । नगरको महिला तथा बालबालिका शाखाका प्रमुख सरस्वती देवी रेग्मीले उपाध्यायकी श्रीमती जमुनाले ‘क’ र छोराहरू मित्रप्रसाद र लोकनाथले ‘ख’ वर्गको परिचयपत्र पाएको जानकारी दिइन् ।

पहिले अपाङ्गता परिचयपत्र वितरण गर्ने महिला तथा बालबालिका कार्यालय खारेज भएको स्थितिमा नगरपालिकामार्फत परिचयपत्र प्रदान गरिएको उनको भनाइ छ । 'शिविरबाट नयाँ, पुराना सबैलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ', शाखा प्रमुख रेग्मीले भनिन्, 'घरदैलोमै सेवा पाउँदा अपाङ्गता भएका व्यक्ति र उहाँहरूका परिवारजन खुसी हुनुहुन्छ ।'

रायडाँडाको शिविरबाट ‘क’ वर्गका पाँच, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका छ र ‘घ’ वर्गका दुई गरी २८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो । यस्तै भकुण्डेमा सञ्चालित शिविरबाट ३० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । जसमध्ये ‘क’ वर्गका १५, ‘ख’ का १० र ‘ग’ का ५ जना छन् ।

‘क’ वर्गको परिचयपत्र पाउने पूर्ण अशक्त व्यक्तिले मासिक रु. चार हजार र ‘ख’ वर्गका अति अशक्तले ले रु. २१ सय भत्ता बुझ्छन् । ‘ग’ र ‘घ’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिले भने राज्यले दिने अरु सुविधा र सहुलियत मात्र पाउँछन् । 

ग्रामिण भेगका सेवाग्राहीलाई लक्ष्य गरी नगरपालिकाले आइतबार वडा नं. ११ रायडाँडा र सोमबार वडा नं. १० भकुण्डमा शिविर सञ्चालन गरेको हो । रायडाँडा नगरको केन्द्रदेखि भौगोलिक हिसाबले टाढा र कठिन वडा पनि हो । 

शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । शिविरमा उपभोक्ता समिति र सर्वसाधारणलाई वित्तीय साक्षरता अनुशिक्षण पनि दिइएको थियो ।

वडा नं. ११ रायडाँडामा सञ्चालित शिविरमा रु. दस लाखभन्दा माथिका तीन र दस लाख मुनिका पाँच योजना सम्झौता गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । यस्तै शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ४० जना लाभान्वित भएका थिए । 

जसमध्ये ४३ जना महिलाको पाठेघर जाँच र उपचार गरिएको थियो । १७ जना महिलाले यौनजन्य रोगको उपचार र चार जनाले परिवार नियोजनको सेवा पाएका थिए । शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । रायडाँडाको छ स्थानको माटोको नमुना परीक्षण गरिएको हो । परीक्षणका क्रममा दोमोट प्रकारको माटो पाइएको थियो ।

सोमबार भकुण्डेमा सञ्चालित शिविरबाट चालु आवमा स्वीकृत पूर्वाधारतर्फका १६ वटा योजना सम्झौता भएको वडाध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । शिविरमा एक सय ५१ जनाको सामान्य स्वास्थ्य जाँच तथा ६७ जनाको पाठेघर परीक्षण गरिएको थियो । तिमध्ये दुई जनामा रिङ्ग पेशरी लगाइएको र १६ जनाको यौन रोग परीक्षण गरिएको नगरका जनस्वास्थ्य निरीक्षक डिल्लीप्रसाद आचार्यले जानकारी बताए ।

उनका अनुसार बिरामीलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो । नेपाली सेनाका चिकित्सक शिशिर खाँडसहित नगरपालिकाका स्वास्थ्यकर्मीले सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए । एक सय ४ जनाको मधुमेह परीक्षण र परिवार नियोजनतर्फ दुई जनामा नरप्लान्ट राखिएको र एक जनाको नरप्लान्ट झिकिएको जनाइएको छ । 

यस्तै भकुण्डेका १८ वटा स्थानको माटो परीक्षणसमेत गरिएको छ । ४० रोपनी जमिनलाई समेट्ने गरी गरिएको परीक्षणमा माटोमा अम्लीयपन अधिक पाइएको नगरको कृषि शाखाका प्रमुख राहुल केसीले बताए । किसानलाई आवश्यक मात्रामा कृषि चुनाको प्रयोग गर्न सुझाव दिइएको उनको भनाइ छ । 

शिविरकै क्रममा बालमैत्री स्थानीय शासनका सूचक स्थानीयकरण गर्न सरोकार भएका पक्षलाई अनुशिक्षणसमेत प्रदान गरिएको थियो । बागलुङलाई बालमैत्री नगर बनाउने घोषणा यसअघि नै भइसकेको छ ।

नगरबाट प्रवाह हुने सेवा पहुँचयोग्य, सरल र छरितो बनाउन वडा स्तरमा घुम्ती शिविरको अभियान थालिएको नगर उपप्रमुख राजु खड्काले बताए । बजार क्षेत्रमा पर्ने वडा नं. १, २, ३ र ४ बाहेक नगरका दसवटै वडामा शिविर सञ्चालन गरिने उनले जानकारी दिए ।

दोस्रो चरणको शिविर भदौ ८ गते वडा नं. १२ अमलाचौरबाट सुरु हुने नगरपालिकाले जनाएको छ । शिविरमा झण्डै ८० प्रतिशत योजना सम्झौता गर्ने लक्ष्य लिइएको छ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । वडा तहमै योजना सम्झौता गर्दा उपभोक्तालाई नगरपालिका धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ । 

नगरप्रमुख बसन्तकुमार श्रेष्ठले घरदैलोमै पुगेर नागरिकलाई सेवा दिन र नजिकको सरकारको अनुभूति दिलाउन घुम्ती शिविरको अभियान थालिएको बताए । “अहिले सुरुआत मात्रै गरिएको छ, यो परीक्षण पनि हो, अभियानको प्रभावकारिता हेरेर आउँदा वर्षमा पनि निरन्तरता दिन्छौँ”, उनले भने । (रासस)


 


Author

थप समाचार
x