स्वास्थ्य

नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी : दुर्गम र पिछडिएका समुदायलाई प्राथमिकता

अतिन आचार्य |
भदौ ७, २०७९ मगलवार ९:१८ बजे

काठमाडौँ- नेपाली नर्स तथा स्वास्थ्यकर्मीलाई रोजगारीका लागि बेलायत पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार सम्झौता भयो ।

सम्झौता तलमाथि भएन भने आगामी ६ महिना भित्रमा नेपाली नर्सहरू बेलायत पुग्ने पक्का छ । सम्झौता भए बमोजिम आकर्षक रोजगारी पाउन कार्यविधि तयार भएर उनीहरू जान पाउने भएका हुन् ।


सम्भवतः वैदेशिक रोजगारीका लागि सम्झौतामा पहिलो पटक पिछडिएका समुदायका मानिसलाई लैजाने गरी सम्झौता भएको छ । छनौट प्रक्रियामा पहिलो प्राथमिकतामा पिछडिएका क्षेत्र तथा आदिवासी, दलित, जनजाति र तल्लो तहका मानिसहरू पर्ने उल्लेख छ ।

परीक्षाका माध्यमबाट छनौट गर्दा पिछडिएका समुदायलाई पहिलो प्राथमिकतामा राखिने मन्त्रालयका सचिव एकनारायण अर्याल बताउँछन् । छनौटका लागि विभिन्न माध्यम तय गरिने उनको भनाइ छ ।

'छनौटका लागि बाटो खुलेको छ । छनौटका लागि कुन आधार तयार गर्ने हो त्यसको अध्यन गर्छौँ,' उनले भने,' पिछडिएका समुदायलाई अरुभन्दा अगाडि आउने गरी तयारी गर्नेछौँ ।'

श्रम मन्त्रालयका अनुसार यसअघि पनि नर्सहरू बेलायत गएका छन् । नर्स बाहेकका (अहेव) स्वास्थ्यकर्मीलाई पनि सम्झौता गरेर पहिलोपटक पठाउन लागेको छ ।

कति संख्यामा र कसरी स्वास्थ्यकर्मी लैजाने त्यसको कार्यविधि बनाएर अघि बढ्ने मन्त्रालयका सचिव अर्यालले बताए । अंग्रेजी भाषामा प्राप्त गरेका नम्बर र तालिम छनौटका आधार बन्ने उनले जानकारी दिए ।

बेलायतले स्वास्थ्यकर्मी तयार पार्न आर्थिक सहयोगसमेत गर्ने भएको छ । उनले अगाडि थपे,' यति रकम दिने भनेर दिने उल्लेख छैन । आवश्यक रकम बेलायतले स्वास्थ्यकर्मीलाई तालिम प्रदान आर्थिक सहयोग गर्ने भएको छ । नेपालमा लगानी गरी योग्य स्वास्थ्यकर्मी बनाएर लैजान्छ ।'

नेपालमा स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्दा बेलायतमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रविधिको जानकारीसमेत दिने अर्यालको भनाइ छ । 'नेपाल र बेलायतमा प्रयोग गरिने प्रविधि फरक छ,' उनी अगाडि थप्छन्,' बेलायतमा प्रयोग गरिने प्रविधिको पूर्ण मात्रामा जानकारी दिइन्छ ।'

नेपालमा नर्सिङ पास गरी बसेकालाई तीन महिना तालिम दिने उनले जानकारी दिए । 'बेलायतको प्रविधिसँग परिचित गराउनका लागि नर्सिङ भएकालाई पुनः तालिम दिइन्छ,' उनले थपे । स्वास्थ्यकर्मीको आवश्यकता अनुसार तालिम दिन सक्ने प्रावधान राखिने उनको भनाइ छ ।

मन्त्रालयका अनुसार नेपालबाट गएका नर्सलाई बेलायतको सुविधायुक्त अस्पतालमा काम पाउँछन् । पहिलो चरणमा आवश्यक मात्रामा तयार भएका नर्स पठाउनेछ । २ लाख बढी मासिक तलब पाउने छन् । बेलायती राजदूतको भनाइ उद्धृत गर्दै अर्याल भन्छन्,' ६ महिना भित्रमा नेपाली नर्ससहित अन्य स्वास्थ्यकर्मी जान पाउँछन् ।'

यस्तो छ बेलायत र नेपालबीच भएको  सम्झौता :

१. स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने।

२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन.एच.एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने।

३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एन्ड सेफगार्ड लिस्ट-२००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने।

४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने।

५. परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने।

६. नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने।

७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्यांकन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने।

८. समझदारी पत्र, नियुक्ति प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेबसाइट मा उपलब्ध हुने तथा थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x