स्वास्थ्य

बजारमा सिटामोल हाहाकार

विभाग भन्छ- औषधि उत्पादन  र वितरण बढाउन आग्रह गरेका छौँ

अतिन आचार्य |
भदौ २४, २०७९ शुक्रवार १२:१३ बजे

काठमाडौँ- देशभर डेंगु संक्रमण बढिरहँदा बजारमा 'पारा सिटामोल'को अभाव भएको छ । घर-घरमा डेंगुका बिरामी बढिरहेका बेला व्यवसायीले  कृत्रिम अभाव सिर्जना गरेका हुन् ।  मूल्यवृद्धि  गर्न व्यवसायीले कृतीम अभाव सिर्जना गरेपछि बजारमा अतिआवश्यक औषधि पारासिटामोल पाउन मुस्किल परेको छ। 

कोभिड-१९ संक्रमण तीव्र भएका बेला पनि बजारमा पारासिटामोल जस्ता अतिआवश्यक औषधि अभाव भएको थियो । 


बजारमा बिरामी तथा आफन्तले सहजै सिटामोल जस्ता औषधि खरिद गर्न पाएका छैनन् । अधिकांश फार्मेसीमा अहिले पारासिटामोलको अभाव हुन थालिसकेको छ .

गैह्रीधारास्थित पदमा  फार्मेसी सञ्चालकका महेन्द्र खड्काका अनुसार एक सातादेखि औषधि पसलमा पारा सिटामोलको अभाव भएको छ । उत्पादनकर्ता र होलसेलमा समेत पारासिटामोल नपाइएको उनले गुनासो गरे ।

'पारासिटामोल खोज्न आउने बिरामीलाई रित्तो हात फर्काउनु परिरहेको छ,' उनले भने,' कुनै पनि बिरामीलाई बढी औषधि बिक्री गरिरहेका छैनौँ ।' पारासिटामोलको खोज्दै दैनिक १५-२० बिरामी आउने उनले जानकारी दिए । 

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले बजारमा पारासिटामोल अभाव नभएको दाबी गरे। तर,पारासिटामोलको माग ह्यवात्तै बढेको उनी स्वीकार्छन् । मानिसहरूले घर- घरमा औषधि संग्रह गरेर राखेको हुन सक्‍ने उनको आशंका छ ।  अन्य औषधिको भने अभाव नभएको उनले बताए ।

डेंगुको त्रासले धेरै मानिसले औषधि खरिद गरी घरमा राखेका कारण सिटामोल अभाव भएको हुन सक्ने उनको अनुमान छ । 'पारासिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छैनौँ । निरन्तर उत्पादनमा जोड दिइरहेका छौ,' उनले भने,' व्यवसायीले कृत्रिम अभाव गर्नुपर्ने कारण कुनै पनि  छैन । सबैले डेंगु संक्रमण बढ्ने त्रासमा किनेर राखेको हुन सक्छन् । केही ठाउँमा नपाइएला तर निरन्तर उत्पादन भइरहेको छ ।'

सरकारले ६५० एमजीको सिटामोल उत्पादन गर्न पनि अनुमति प्रदान गरिसकेको अवस्थामा अभाव गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

केही दिनदेखि पारासिटामोलको अभाव भइरहेको सूचना पाइसकेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । औषधि उत्पादनकर्तालाई सिटामोलको उत्पादन  र वितरण बढाउन आग्रह गरिसकेको उनको भनाइ  छ ।

डेंगुको संक्रमण बढेकाले अस्पताल तथा मानिसहरूले एक्कासि खरिद गरेकाले पनि अभाव हुन सक्ने उनले सुनाए । अनावश्यक मात्रामा औषधि खरिद नगर्न पनि उनले आग्रह गरे ।

'सिटामोलको अभाव हुन नदिन विभागले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको छ,' केसीले भने,' मुख्य गरी व्यवसायीको माग भनेको मूल्य समायोजन हो। त्यस विषयमा छलफल चलिरहेकाले अहिले अभाव गर्नुपर्ने कुनै कारण छैन । ' 

अभाव हुने गरी उत्पादनकर्ताले त्यस्तो कुनै पनि गतिविधि नगरेको केसीको भनाइ छ । व्यवसायीसँग औषधि उत्पादनको मात्रा बढाउनका लागि निरन्तर छलफलमा रहेको उनले बताए । 

मूल्यवृद्धि गराउन उत्पादक कम्पनीले आग्रह गरिरहेको उनले बताए । उनका अनुसार २०६४ सालदेखि सिटामोलको मूल्य निर्धारण भएको छैन । व्यवसायीले मूल्य समायोजन गर्न बारम्बार आग्रह गरिरहेको उनले जानकारी दिए  ।  व्यवसायीको भनाइ उदृत गर्दै उनले भने,'  पुरानो मूल्यमा औषधि बनाउन सकिदैन भनिरहेका छन् । तर अहिलेको अवस्था त्यस्तो नहोला ।'

कोभिड र डेंगुको अवस्था सहज भएपछि विभागले  सिटामोलको मूल्य समायोजन प्रक्रिया अगाडि बढाउने उनले बताए । वैज्ञानिक आधारमा मूल्य समायोजन गरिने उनले बताए ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x