स्वास्थ्य

बैतडीमा २८ जनामा स्क्रब टाइफस

इकागज |
भदौ २७, २०७९ सोमबार १५:३८ बजे

बैतडी- यहाँ २८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । चालू आर्थिक वर्षको हालसम्म २८ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

सङ्क्रमण देखिनेमा जिल्लाका सबै स्थानीय तहका बिरामी रहेका कार्यालयले जनाएको छ । यहाँ पछिल्लो समयमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा स्क्रब टाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिमा समेत स्क्रब टाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । 


जिल्ला अस्पतालमा हाल दैनिक रूपमा ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका जिल्ला अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले जानकारी दिए । स्क्रब टाइफसमा पनि टाइफाइड ज्वरो जस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै स्क्रब टाइफस भए नभएका बारेमा जानकारी हुने डाक्टर श्रेष्ठको भनाइ छ । 

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ । उनले भने, 'केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ, दैनिक रूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।'

पछिल्लो समय दिनप्रतिदिन यहाँ ‘स्क्रब टाइफस’का बिरामी देखिन थालेपछि यस रोगको जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई स्क्रब टाइफससमेत हुनसक्ने भएकाले परीक्षण गर्न भनिएको छ ।

वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका हुन् । पशु चौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ ।  

‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । 

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रवटाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्नेछ । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।


Author

थप समाचार
x