स्वास्थ्य

चुरोट नखानेलाई पनि फोक्सोको क्यान्सर

इकागज |
असोज ८, २०७९ ९:८ बजे

ध्रुमपान गरिरहेको नुवाकोटकी एक महिला। तस्बिरः राजेश घिमिरे

काठमाडौँ - वायु प्रदुषणलाई हल्का रूपमा लिइरहनु भएको छ भने सावधान हुनुहोस् किनकी कहिल्यै चुरोट बिडी नखाने मानिसमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुनसक्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। नेपालको वायु प्रदूषण स्तर विश्वमै उच्च स्तरमा रहेको र सोही प्रदूषणकै कारण वर्षिक ३० हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भनेर विश्व बैंकले बताएको केही समयमा नै यो अनुसन्धान सार्वजनिक भएको हो।

वेलायत लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा भनेका छन्-फाइन पार्टिकुलेट म्याटर (पीएम) २.५ को प्रदुषित हावाको निरन्तर सम्पर्कमा बस्ने व्यक्तिहरूलाई फोक्सोको क्यान्सर हुन सक्छ। ४० हजार मानिसमा गरिएको यो अनुसन्धानको नतिजा सेप्टेम्बरको दोश्रो साता सार्वजनिक गरिएको थियो । यसलाई वैज्ञानिक सर्कलमा ‘एक प्रमुख सफलता’ को रूपमा हेरिएको थियो। पीएम २.५ भनेको हावामा २.५ माइक्रोमिटरसम्म व्यास भएको प्रदूषण कण हो।


धुम्रपान फोक्सोको क्यान्सरको लागि सबैभन्दा ठूलो जोखिम कारक मानिन्छ। यो ७० प्रतिशत भन्दा बढी क्यान्सरका “केस”हरूको लागि धुम्रपान जिम्मेवार छ। तर फ्रान्सिस क्रिक इन्स्टिच्युटले आफ्नो अध्ययनको बारेमा जारी गरेको विज्ञप्तिमा वायु प्रदूषणले सन् २०१९ मा विश्वभर फोक्सोको क्यान्सरबाट तीन लाखभन्दा बढीको मृत्यु भएको बताएको छ ।

अध्ययनले पीएम २.५ ले फोक्सो सेल वा कोशिकाहरूलाई सुन्याउछ भन्ने प्राक्कल्पना वा ह्यापोथेसिसका आधारमा परीक्षण गर्यो। जसले सामान्यतया क्यान्सरवाला म्यूटेशन बोक्ने सुप्त कोशिकाहरूलाई सक्रिय बनाउँछ भन्ने अनुमानका आधारमा परीक्षण सुरु गरिएको हो। त्यसपछि सुप्त कोशिकाहरूको फैलिदा रहेछन्, अनि पीएम २.५ को कारणले हुने सूजनसँगै, ट्युमरहरू बन्ने रहेछन्, जसमा अनियन्त्रित रूपमा बढ्ने क्यान्सरको प्रवृत्ति हुने रहेछ।

अध्ययनले जहाँ पीएम २.५ उच्च छ, त्यहाँ अन्य प्रकारको क्यान्सरको दर पनि बढी छ भन्ने पनि पत्ता लगायो ।

यसका प्रमुख अनुसन्धानकर्ता र क्यान्सर औषधिमा विशेषज्ञ प्रोफेसर चार्ल्स स्वान्टनले यो अनुसन्धानका निष्कर्षहरू गत हप्ता युरोपियन सोसाइटी अफ मेडिकल ओन्कोलोजी (ईएसएमओ) कांग्रेसमा प्रस्तुत गर्नुभएको थियो। ईएसएमओ क्यान्सर विशेषज्ञहरूको एक अग्रणी व्यावसायिक संगठन हो।

फ्रान्सिस क्रिकको यो अध्ययनका बारेमा गत साता प्रकाशित लेखमा, द ल्यान्सेट ओन्कोलोजीले यसलाई 'एक प्रमुख खोज” भनेको छ।  उक्त लेखमा स्वान्टनलाई उद्धृत गर्दै भनिएको: 'अध्ययनले क्यान्सरको बारेमा हाम्रो बुझाइलाई पूर्ण रूपमा परिवर्तन गरेको छ। धुम्रपान नगर्ने मानिसहरू कसरीको शरीरमा कसरी फोक्सोको क्यान्सर बढ्न थालेको छ भन्ने  बारेमा हामीले थाहा पाएका छौँ। अब हामी यसको कारण जान्दछौँ ।

'क्यान्सर जन्माउने कसरी भएका कोशिकाहरू हाम्रो उमेरसँगै प्राकृतिक रूपमा जम्मा हुन्छन्, तर तिनीहरू सामान्यतया निष्क्रिय हुन्छन्,' स्वान्टनले भने, 'वायु प्रदूषणले फोक्सोमा यी कोशिकाहरूलाई जगाउँछ, तिनीहरूलाई बढ्न र सम्भावित रूपमा ट्युमरहरू बनाउन प्रोत्साहन दिन्छ भन्ने कुरा हामीले फेला पार्‍यौं।'

फ्रान्सिस क्रिक इन्स्टिच्युटको कथन अनुसार, ‘यद्यपि, धुम्रपान फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो जोखिम कारक हो। यद्यपि बाहिरी वायु प्रदूषण यूकेमा फोक्सोको क्यान्सरको १० मा एकको लागि जिम्मेवार छ।

'बेलायतमा हरेक वर्ष धुम्रपान नगर्ने अनुमानित ६,००० मानिस फोक्सोको क्यान्सरबाट मर्छन्,' विज्ञप्तिमा भनिएको छ। यी मध्ये केही केसहरू धेरै हदसम्म वायु प्रदूषणको कारण हुन सक्छन्। सन् २०१९ मा, पीएम २.५ को जोखिमको कारण विश्वभरि लगभग तीन लाख फोक्सोको क्यान्सरको मृत्यु भएको थियो।

अध्ययनहरूका अनुसार वायु प्रदूषणमा सानो परिवर्तनले पनि मानव स्वास्थ्यमा विनाशकारी प्रभाव पार्न सक्छ।

यस अनुसन्धानका सहलेखक डा. एमिलिया लिम भन्छन्, 'हाम्रो विश्लेषणले वायु प्रदूषणको बढ्दो स्तर फोक्सोको क्यान्सर, मेसोथेलियोमा र मुख र घाँटीको क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित रहेको देखाउँछ।'

डा. लिम भन्छन्, 'यस खोजले वायु प्रदूषण जस्ता कार्सिनोजेनको कारण हुने सूजनका कारण हुने क्यान्सरको लागि व्यापक भूमिका निर्वाह गरेको देखिन्छ। वायु प्रदूषणको स्तरमा सानो परिवर्तनले पनि मानव स्वास्थ्यलाई असर गर्न सक्छ। विश्वका ९९ प्रतिशत मानिसहरू वायु प्रदूषणको स्तर डब्लुएचओको निर्देशनभन्दा माथि रहेको ठाउँमा बस्छन्। यसको मतलब यसले हामी सबैलाई असर गरिरहेको छ।'

उल्लेखनीय के छ भने यो साता जारी गरिएको नेपाल राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन मा विश्व बैंक समूह भनेको छ, 'नेपालको वायु प्रदूषण स्तर विश्वमै उच्च छ जहाँ सोही प्रदूषणकै कारण वर्षिक ३०,००० भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। झन्डै सम्पूर्ण जनसंख्या असुरक्षित तहको अति सूक्ष्म धुलकण (फाइन पार्टिकुलेट म्याटर) को चपेटामा छन्। घरबाहिर (अधिकांश रुपमा दाउरा/कोइला/गुइँठा आदिको प्रयोग गरी पकाउने एवं तताउने, हिँडडुल, तथा कृषि अवशेष र फोहोर जलाउने कार्यबाट हुने) र घरभित्र (अधिकांश रुपमा दाउरा/कोइला/गुइँठा आदिको प्रयोग गरी पकाउने एवं तताउने कार्यमा हुने) का दुवै वायु प्रदूषणको चपेटामा परेका हुन।'

प्रतिव्यक्ति हरित गृह ग्यास उत्सर्जन न्यून मात्रामा र विश्वव्यापी जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेता पनि वायु प्रदुषणको मुख्य स्रोतका रूपमा रहेका कृषि तथा उर्जासँग सम्बन्धित उत्सर्जनहरूले अर्थतन्त्रमा नकरात्मक प्रभाव पारिरहेको विश्व बैंकले जनाएको छ।  विश्व बैंक समूह जारी गरेको नेपाल राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन उक्त कुरा जनाएको छ।

विश्व बैंकका अनुसार हरित गृह ग्यासको उत्सर्जन विशेष गरी कृषि (५४ प्रतिशत) र उर्जा (२८ प्रतिशत) क्षेत्रबाट धेरै रहेको छ। सन् २०१२ देखि सन् २०१९ सम्मको अवधिमा नेपालको हरितगृह ग्यास उत्सर्जन दर २६.९ प्रतिशतले वृद्धि भएको देखिन्छ जुन विशेषत: बढ्दो उर्जा खपत र उद्योग कल कारखानाबाट रहेको छ।

विद्युत खपत र उद्योग कलकारखानाले सन् २०१९ मा भएको नेपालको कूल उत्सर्जनको २८.३ र ७.४ प्रतिशत हिस्सा ओगटेको छ। जैविक वस्तु- वायोमास, यातायात, खुला रुपमा फोहोरमैला जलाउने कार्य र औद्योगिक क्रियाकलापले पनि हरितगृह ग्यास उत्सर्जन र वायु प्रदूषण दुवै उल्लेख्य रुपमा बढाउन भूमिका निर्वाह गरेको विश्व बैंकले बताएको छ।


Author

थप समाचार
ad
x