स्वास्थ्य

झापामा ७९ जना डेंगु संक्रमित फेला

इकागज |
असोज ९, २०७९ आइतबार १४:३८ बजे

बनियानी- झापामा डेंगु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए । 'यसअघि जिल्लाका केही पालिकामा मात्र डेंगु सङ्क्रमण देखिएको थियो,' उनले भने, 'पछिल्लो समय डेंगु सङ्क्रमण बढ्दै गएको छ ।'

सङ्क्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा सात, अर्जुनधारामा एक, कनकाईमा आठ, कमलमा छ, दमकमा सात, गौरादहमा एक, झापामा तीन, बिर्तामोडमा १४, भद्रपुरमा चार र कचनकवलमा दुई जनामा डेंगु सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 


जिल्लाका १५ वटै पालिकालाई ३०/३० थान कीट वितरण गरिएको फोकल पर्सन यादवले बताए । आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत यही असोज १०/१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता, जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।


Author

थप समाचार
x