स्वास्थ्य

स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण, डेंगु प्रकोप घोषणा गर्न माग

इकागज |
असोज १५, २०७९ शनिबार १८:२६ बजे

काठमाडौँ- नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ ।

शनिबार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङलाई भेटेर उनीहरूले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । उनीहरूले सरकारले डेंगु नियन्त्रणका लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि प्यारा सिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडोभन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग राखेको छ ।


ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामका लागि सरकार लागिरहेको बताए । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको जानकारी दिए । उनका अनुसार प्रत्येक शनिबार १० बजे १० मिनट खोज र नष्ट गर भन्ने अभियान चलाएको र सरकारले पानी जमेका ठाउँहरू र फोहोर भएका ठाउँहरू नष्ट गर्ने काम गरिरहेकाे छ ।

मन्त्री खापुङले काठमाडौँमा महानगरलाई यसको जिम्मा दिएपनि अपेक्षाअनुसार काम नभएको जस्तो पाइएको जिकिर गरे । उनले आफूलाई प्राप्त रिपोर्टअनुसार बजारमा औषधि अभाव नरहेको दाबी गरे । संकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगुको महामारी नपुगेको बताए । 

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले सरकार छ भन्ने अनुभूति जनताले गर्ने गरेर सरकारले काम गर्नुपर्ने उल्लेख गरे । उनले डेंगुको महामारी अहिले बढिरहेकाेले सरकारले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन नसकेको बताए । उनले डेंगुको उपचार भइरहेका अस्पतालहरूमा डेंगु सम्बन्धी सम्पूर्ण उपचार निःशुल्क हुनुपर्ने बताए ।

उनले जनतालाई प्रत्यक्ष रूपमा सरकार साथमा रहेको छ भन्ने भान दिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले सरकार विभिन्न बहानामा डेंगु नियन्त्रणबाट भाग्न नमिल्ने जिकिर गरे । 


Author

थप समाचार
x