कोभिड–१९ महामारीको दोस्रो लहर
भारतमा किन आयो यस्तो विकराल अवस्था ?
कोभिड-१९ बाट निधन भएकाहरुको दिल्लीका खुला चौरमा अन्तिम संस्कार गरिएको यो तस्बिर रोयटर्सबाट साभार गरिएको हो ।
काठमाडौँ : भारतमा अचानक कोभिड–१९ संक्रमितहरू ह्वात्तै बढे । कसैले अन्दाजै गरेको थिएन, यो ग्राफ वक्र आकार (कर्भ) मा आउला भन्दाभन्दै सीधा माथि जाने क्रम तीव्र छ । दैनिक संक्रमितहरू र मृत्युको संख्याले भारतीयहरूलाई अत्याइरहेको छ । सात दिनदेखि लगातार २ लाख भन्दा धेरै नयाँ संक्रमितहरू बढीरहेका छन् । बिहीबार त भारतले अहिलेसम्मकै उच्च संक्रमितहरूको संख्यामा अमेरिकाको रेकर्डलाई पछि पार्यो । बिहीबार भारतमा ३१३,३१० संक्रमित भएका छन् ।
बिहीबार २,१०४ जनाको कोभिड–१९ का कारण निधन भएको छ । बुधबार एक दिनमै २,०२३ संक्रमितहरूको मृत्यु भएको थियो । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूको संख्या १८४,६५७ नाघेको छ । सबै ठूला–साना अस्पतालहरू बिरामीले भरिएका छन् । कोभिड–१९ का बिरामीहरूलाई बचाउने अक्सिजनको चरम अभाव भइरहेको छ । अस्पतालमा यत्रतत्र शवहरू भएपछि त्यसलाई व्यवस्थापन गर्न दिल्लीका खुला चौरहरूमा जलाउन थालिएको छ ।
सामाजिक जीवन र गतिविधिहरू खुला गर्न हतार गर्यौं । यात्रामा प्रतिबन्ध हटाइयो, स्थानीय निर्वाचन भए, धार्मिक भेलाहरू, विवाह आदि सामाजिक रिवाजहरू तीव्र रूपमा कोराना भाइरस फैलाउने (सुरपर स्प्रेडर) घटना/कार्यक्रमहरूमा परिणत भए ।
गत फ्रेबुअरीमा भारतमा कोभिड–१९ को संक्रमण घटेपछि आवागमन केही सहज बनाइन थालेको थियो । ‘भारतमा नीति निर्मातादेखि सर्वसाधरणसम्मलाई भारतमा कोभिड–१९ को दोस्रो लहर आउँदैन भन्ने लागेको थियो, तर दुर्भाग्य त्यस्तो भएन,’ इपिडेमियोलोजिस्ट तथा जनस्वास्थ्य मामिला विज्ञ डा. के श्रीनाथलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचारसंस्था रोयटर्सले भनेको छ । श्रीनाथ भारत सरकारद्वारा गठित प्राविधिक कार्यदलमा रहेर कोभिड–१९ महामारी नियन्त्रणका सम्बन्धमा सरकारलाई सल्लाह दिन्छन् ।
‘यो स्पष्ट छ कि हामीले सामाजिक जीवन र गतिविधिहरू खुला गर्न हतार गर्यौं । यात्रामा प्रतिबन्ध हटाइयो, स्थानीय निर्वाचन भए, धार्मिक भेलाहरू, विवाह आदि सामाजिक रिवाजहरू तीव्र रूपमा कोराना भाइरस फैलाउने (सुरपर स्प्रेडर) घटना/कार्यक्रमहरूमा परिणत भए,’ श्रीनाथले भनेका छन् ।
गत महिना, भारतको स्वास्थ मन्त्रालयले ७७१ भेरियन्टका कोरोनाभाइरस भारतमा पत्ता लागेको बताएको थियो । यस्ता भेरियन्टहरू त्यसभन्दा अघि बेलायत, दक्षिण अफ्रिका, ब्रजिल लगायतका देशमा फेला परेका ‘डबल म्युट्यान्ट’ भेरियन्टहरू थिए । यस्ता मल्टिपल म्युट्यान्ट भाइरस बढी संक्रामक रहेको पत्ता लागेको थियो । यस्ता भाइरसका विरुद्ध अहिले प्रचलनमा रहेको कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिता भारतीय वैज्ञानिकहरूको अध्ययनको विषय भएको थियो । यसै समयमा भारतीय सञ्चारमाध्यमहरूमा पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू पनि संक्रमित भैरहेको समाचारहरू आइरहेका थिए । भारतका पूर्व प्रधानमन्त्री, ८८ वर्षीय मनमोहन सिंह पनि अप्रिल ३ मा दोस्रो डोज खोप लिएको तीन सातापछि कोभिड–१९ संक्रमित भएर अस्पताल भर्ना भएका थिए । अहिलेसम्म उनको स्वास्थ्य अवस्था स्थिर छ ।
तर विज्ञहहरूले भने खोपको प्रभावकारि नरहेको भन्ने तथ्य वैज्ञानिक रूपमा स्थापित भैनसकेको बताएका छन् । यो अझै अस्पष्ट नै छ कि पूर्ण रूपमा खोप लगाइसकेका व्यक्तिहरू कसरी धेरै बिरामी भए र कुन प्रकारको भाइरसबाट उनीहरू संक्रमित भएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यसले अहिलेसम्म १३ करोड २० लाख डोज खोप वितरण गरिसकेको छ तर भारतको जनसंख्या १ अर्ब ४०करोड रहेको छ । भारतका १० प्रतिशतभन्दा कम जनसंख्याले पहिलो डोज खोप लगाएका छन् भने २ प्रतिशतभन्दा कमले दुवै डोज पाएका छन् । तर भारत सरकारका अनुसार मात्र ०.०३ देखि ०.०४ प्रतिशत मात्र दुवै डोज खोप लगाएकालाई कोरोना भाइरस संक्रमण भएको छ । यसैबीच भारतले उच्च प्रभावकारी मानिएका दुई प्रकारका भ्याक्सिन चिकित्सकीय परिक्षण (क्लिनिकल ट्रायल) का लागि सार्वजनिक गरेको छ । अक्सफोर्ड अष्ट्राजेनिका र अर्को भारतीय कम्पनी भारत बायोटेकले विकास गरेका हुन् ।
नयाँ प्रकारको कोरोना भाइरस (बी१६१७) स्ट्रेन भारतमा अहिलेसम्मकै बढी संक्रामक मानिएको छ । यो भाइरसलाई बाहिर जान नदिन भारतले यात्रा प्रतिबन्ध लगायतका उपाय अपनाउनुपर्ने मत मजबुत बन्दै गएको छ । ‘यो स्ट्रेनलाई विश्वभर पुग्नबाट रोक्नुपर्छ,’ युनिभर्सिटी कलेज लण्डनकी गणितज्ञ क्रिस्टीना पाजिललाई उल्लेख गर्दै रोयटर्सले भनेको छ, ‘हामीले सावधानी अपनाउनैपर्छ ।’ बेलायतले भारतबाट र भारतमा हुने सबै प्रकारका यात्रामा प्रतिबन्ध लगाएको छ । द सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले अमेरिकीहरूलाई पनि भारतीयहरूले पूर्ण रूपमा खोप नलगाएसम्म भारतमा यात्रा नगर्न भनेको छ ।
(रोयटर्सको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया