स्वास्थ्य

कलाकार नीरुसँग मनका कुरा

सृजना खड्का |
मंसिर १३, २०७९ मगलवार १६:५३ बजे

काठमाडौँ–​ कलंकी, स्युचाटारस्थित काँचो इँटाले बनेको पुरानो घर । नीरु, उनका श्रीमान् र छोरी त्यसदिन घरमै थिए । एक्कासि भूकम्प आयो । घर पूरै भत्कियो । उनीहरू तीनै जना घरभित्रै पुरिए । हत्तपत्त छिमेकीहरू जम्मा भए र सबैको तत्कालै उद्धार भयो । 

त्यही दिनपछि हो, कलाकार नीरु खड्का (ठ्यासकुमारी) मा निराशा छाउन थालेको । नकारात्मक सोचले डेरा जमाउन थालेको । जीवन अन्धकार लाग्न लागेको ।


नीरुका त्यसपछिका दिन स्वाभाविक बितेनन् । कलाकारितामार्फत दर्शक हँसाउने उनमा चरम निराशा छाउन थाल्यो । सुरुमा त उनले त्यो प्रक्रियालाई सामान्य रूपमा लिइन्  । यही बीच टेलिसिरियल र स्टेज कार्यक्रमहरू पनि गरिन् । दर्शकलाई नचाइन्, हँसाइन् । कार्यक्रमको सिलसिलामा उनी अमेरिका उडिन् । एउटा कलाकारका लागि अमेरिका उड्नु निकै खुसीको खबर थियो । तर, उनी त्यहाँ पनि खुसी हुन सकिनन् । भीडमा पनि उनी एक्लो महसुस गर्न थालिन् । ‘जतिबेलै रुन मात्रै मन लाग्थ्यो,’ उनले सम्झिइन्, ‘शव्दमा बयान नै गर्न नसक्ने अनौठो खालको नमीठोपन थियो त्यो ।’ 

रोएको देख्दा हाँस्य कलाकारहरू नीरुलाई हँसाउन खोज्दै भन्थे– रुवाइ त नीरुको जस्तो हुनुपर्छ । पारा–पाराको, थरी–थरीको, आकार–प्रकारको ।  हँसाउनेहरूको हुलमुलमा उनी केही राहत महसुस गर्थिन् । तर, अमेरिकाबाट फर्केपछि उनलाई झन्–झन् गाह्रो हुन थाल्यो । 

नीरुको मनमा अनेकथरी कुरा खेल्न थाले । जताततै अन्धकार महसुस गर्न थालिन् । ‘मान्छे लडेको, गाडी पल्टेको मात्रै देख्थेँ,’ उनले भनिन्, ‘कहिले आफैँ बसेको घरले थिच्ला जस्तो हुन्थ्यो । के खाइरहेको छु, के लगाइरहेको छु समेत होस हुन छाड्यो ।’ 

यसअघि स्टेजमा निर्धक्क दर्शक हँसाउन सक्ने नीरुलाई अब स्टेजदेखि पनि डर लाग्न थाल्यो । कुनै कार्यक्रममा भाग लिनुभन्दा एक महिना अगाडि नै उनका हातखुट्टा काम्न थाले । मान्छेहरूसँग बस्न, फोटो खिच्न पनि गाह्रो हुन थाल्यो । नीरुलाई सबैभन्दा गाह्रो त्यतिबेला हुन्थ्यो जब भित्र मन रोइरहेको हुन्थ्यो तर, बाहिर मान्छेहरूका अगाडि केही भएको छैन जसरी हाँस्नुपर्थ्यो ।

त्यही अवस्थामा उनी गर्भवती भइन् । 

गर्भावस्था र त्यसपछिको समय उनका लागि झनै कष्टकर रह्यो । त्यतिबेलासम्म उनलाई आफूमाथि के बितिरिहेको छ थाहा थिएन । अहिले थाहा पाइन्, त्यो सबै डिप्रेसनको लक्षण रहेछ । उपचारका लागि मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माकहाँ जाँदा उनलाई डिप्रेसन भएको पत्ता लागेको थियो ।  ‘छोरा जन्माइसकेपछि मलाई ‘​पोस्टपार्टम डिप्रेसन’ भएको रहेछ,’ उनले सुनाइन्, ‘त्यो बेला मलाई जतिबेलै मर्ने सोच मात्रै आउँथ्यो । भीर मात्रै खोज्न मन लाग्थ्यो ।’ 

डिप्रेसन कस्तो हुन्छ ? भनेर कसैले सोध्यो भने त्यसको जवाफ उनीसँग छैन । उनी यत्ति भन्छिन्, ‘आफूले आफैँलाई निचोरेर फ्याँकौँ जस्तो लाग्छ । जति बेलै आफैँलाई सक्काउन मन लाग्छ ।’ 

यो अवस्थाबाट गुज्रिँदा उनले सबैभन्दा धेरै सुनेको वाक्य हो– श्रीमान्को ठाउँमा श्रीमान्, छोरीको ठाउँमा छोराछोरी, त्यति माया गर्ने सासूससुरा । यस्तो मान्छेलाई कसरी हुन्छ डिप्रेसन ?

यसको पनि जवाफ उनीसँग हुँदैनथ्यो । पटक–पटकको आत्महत्याको प्रयास नै उनले अरुलाई दिने जवाफ हुन थाल्यो । 

एकपटकको कुरा हो । छोरा जन्मिएको डेढ वर्ष भएको थियो । उनलाई निकै नकारात्मक सोच आउन थालेको थियो । नकारात्मक सोचलाई जित्न उनी सकेसम्म सकारात्मक कुराहरू पढ्थिन्, हेर्थिन्, सुन्थिन् । तर, अवस्था उनको नियन्त्रणमा थिएन । ‘त्यो बेला मलाई कसैले माया गर्दैन भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘म १४ वर्षको हुँदा आमा बित्नुभयो, २१ वर्षको हुँदा बुवा । मलाई श्रीमान्, सासूससुरा कसैले माया गर्दैनन् भन्ने लाग्थ्यो ।’

एकदिन डिप्रेसनका २८ गोली औषधी उनले एकैपटक खाइदिइन् । होस आउँदा उनले आफूलाई अस्पतालको आईसीयूमा पाइन् । त्यस दिन उनलाई आफ्नो माया औधी लाग्यो । त्यसपछि उनलाई कहिल्यै मरौँ लागेन । ‘मरौँ लागेको दिन कौसीमा गएर कराउँथेँ, चिच्याउँथेँ । मर्ने सोच उतै थन्काएर आउँथेँ,’ उनले भनिन् ।

उनको शारीरिक होस अस्पतालको बेडमा आयो । मानसिक रूपमा भने मनोविमर्श प्रशिक्षक निर्जला भट्टराईको तीनओटा सेसन लिएपछि मात्रै उनको होस आयो ।

त्यो समय उनलाई केहीले पनि खुसी दिँदैनथ्यो । ‘कसैले नकारात्मक कुरा नगरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘कोही मर्‍याे भनेर नसुनाइदिए हुन्थ्यो । दुर्घटनाको समाचार पढ्न नपरे हुन्थ्यो । भ्रष्टाचारको कुरा सुन्न नपरे हुन्थ्यो । बलात्कारका घटना थाहा नपाए हुन्थ्यो । आत्महत्याको खबरबाट टाढै हुन पाए हुन्थ्यो जस्तो हुन्थ्यो ।’ 

कुनै समय नीरु हरेक दिन मार्टिन चौतारीमा भेटिन्थिन् । त्यहाँ गएपछि उनी सारा संसार भुल्थिन् । चौतारीको वातावरणले उनलाई सकारात्मक उर्जा दिन्थ्यो । आफूलाई चाहिने खुराक उनी त्यहीँ भेट्थिन् । ‘म एकदमै पत्रपत्रिका र किताब पढ्थेँ,’ उनले सुनाइन्, ‘एकताका म बिहानदेखि बेलुकासम्म मार्टिन चौतारीको पुस्तकालयमा हुन्थेँ । नयाँ–नयाँ विषयमा पढ्दा मलाई सकारात्मक ऊर्जा मिल्थ्यो ।’

कुनै दिन दिनहुँ मार्टिन चौतारीमा भेटिने नीरुले पत्रपत्रिका पढ्न छाडेको साढे दुई वर्ष भयो । पत्रिका पढ्दा आफूलाई थप साइकोलोजिकल काउन्सिलिङको आवश्यकता पर्ने उनले बताइन् । ‘पत्रिकामा आउने नकारात्मक समाचारबाट टाढा बस्न मैले यो उपाय अपनाएको हुँ,’ उनले भनिन् ।

नीरुले अहिलेसम्म जे गरिन् आफ्नै स्वविवेकले गरिन् । मार्टिन चौतारी आफ्नै विवेकले छिरिन्, ‘मेरी बास्सै’ आफ्नै निर्णयले खेल्न गइन् । ‘सानैमा बुवाआमा गुमाएपछि मलाई गाइड गर्ने मान्छे भएन, आफूले गरेको निर्णय सही हो वा गलत सोध्ने ठाउँ पनि भएन,’ उनले सुनाइन्, ‘काउन्सिलरले गलत हो भने गलत, सही हो भने सही भनिदिने रहेछन् । अगाडि सही भनेर पछाडि कुरा काट्ने गर्दा रहेनछन् । त्यसैले मलाई जीवनमा अघि बढ्न प्रेरणा दियो ।’

मानसिक स्वास्थ्यको विषयमा कलाकारिता क्षेत्रका व्यक्तिहरू खासै मुखर भएर बोल्दैन । कला क्षेत्रमा मानसिक स्वास्थ्यलाई एकदमै तल्लो स्तरले हेरिने उनको अनुभव छ । ‘मानसिक स्वास्थ्यको समस्या भएकालाई ‘औषधि खाने’, ‘पागल’, ‘बौलाही’, ‘खुस्केट’ यस्तै–यस्तै भनेको सुनेको छु,’ उनले भनिन्, ‘चलचित्रहरूमै पनि मानसिक स्वास्थ्यको समस्या भएका व्यक्तिहरूलाई नराम्रो रूपमा चित्रण गरिएको हुन्छ ।’ 

मानसिक समस्यासँग जुधिरहँदा वा यो विषयमा बोलिरहँदा कलाकारिता क्षेत्रमा काम पाउन सजिलो छैन । यो नीरु स्वयंको अनुभव हो । साथीसर्कलले नै ‘औषधि खाने मान्छे’ भन्दा काउन्सिलरकहाँ गएर नीरु निकै बेर रोएकी थिइन् ।

तर, पनि आफूलाई डिप्रेसन भएको कुरा सेयर गर्न नीरु हिचकिचाइनन् । किनभने, उनलाई आफ्नै जिन्दगीलाई ढाँटेर बाँच्न मन लागेन । ​

डिप्रेसनको यात्रामा धेरै परीक्षाहरू पार गरेको अनुभव उनीसँग छ । ‘डिप्रेसन हुँदा पहिलो संघर्षको आफ्नै खाटसँग हुन्छ,’ उनले भनिन्, ‘खाटबाट उठ्नै संघर्ष गर्नुपर्छ । आफैँ सुतेको खाट आफ्ना लागि संघर्ष हुँदाकाे अवस्था कस्तो होला ?’

एक वर्षसम्म नीरु घरमै बसिन् । व्यस्त तालिकाबाट केही समय आफ्ना लागि निकालिन् । आफूलाई माया गरिन्, आफैँलाई सुनिन् । 

अहिले ‘औषधि खाने मान्छे’ भन्नेलाई उनी यसरी जवाफ फर्काउँछिन्– हो, म औषधि खाने मान्छे हुँ । तपाईंहरू सुगर/प्रेसरको औषधि खानुहुन्छ, म मनको । 

यही ट्यागका कारण जतिबेला काम पाइँदैनथ्यो उनी सोच्थिन्– सडकमा बस्ने मान्छे त भोको छैन, म कसरी भोकै परौँला र ? 

कुनै समय भ्याइनभ्याई गरेर काममा हिँड्ने मेहनती नीरु अहिले ऋणमा छिन् । यो उनको जिन्दगीको पहिलो ऋण हो । ‘म पहिलो पटक ऋणमा छु, तर खुसी छु,’ उनले भनिन् ।

नीरु अहिले पनि मनोचिकित्सक डा. नम्रता प्रधानसँग निरन्तर काउन्सिलिङमा छिन् । आफ्नो मन आफैँ बुझ्न उनी ‘साइकोलोजिकल काउन्सिलिङ’ पनि पढिरहेकी छिन् । मनको भारी बिसाउन अहिले उनी धेरै ठाउँ जान्छिन् । ‘एकताका आनन्दले ध्यान गर्ने ठाउँको खोजीमा थिएँ,’ उनले भनिन्, ‘धेरै ठाउँमा डुलेपछि ‘प्राणिक हिलिङ’बारे थाहा पाएँ ।’

शरीरबाट आउने सकारात्मक ऊर्जाबाट कुनै पनि रोग निको पार्न सम्भव छ भन्ने सिद्धान्त बोकेको ‘प्राणिक हिलिङ’ उनका लागि निकै उपयोगी भयो । मनको शान्तिका लागि उनी ‘जीवन विज्ञान’ पनि धाइरहेकी छिन् । ‘हरेक पटक त्यहाँका गुरुहरूसँग कुरा गर्दा सकारात्मक ऊर्जा भरिन्छ,’ उनले भनिन्, ‘बुवाआमा चाँडै बिते पनि उहाँहरूलाई नै मैले आफ्नो अभिभावक महसुस गर्न थालेकाे छु ।’

यसका साथै गार्डेनिङको माध्यमबाट पनि उनी थेरापी लिइरहेकी छिन् । फुर्सद मिल्नेबित्तिकै नीरु नर्सरीतिर धाइहाल्छिन् । हरेक पटक नर्सरीमा जाँदा उनी फरक–फरक अनुभूति गर्छिन् । उनको आफ्नै दिव्य सुगन्ध बाटिका पनि छ । जहाँका फूल र बिरुवासँग उनी अचेल आफ्ना मनका कुरा साट्छिन् ।  

डिप्रेसनले गर्दा जीवनलाई नजिकबाट बुझेकी नीरुलाई डिप्रेसन हुनु नै जीवनको अन्त्य हुनु हो जस्तो लाग्दैन । डिप्रेसनपछि आफूले झनै जीवनलाई नजिकबाट बुझ्न पाएको उनले बताइन् । ‘हासीखुसी मात्रै भएकाे भए, पीडा के हाे मलाई के थाहा हुन्थ्यो,’ उनले भनिन्, ‘आफूलाई खोज्न सुरु गर्नु जीवनकाे अन्त्य कहाँ हो र ? याे त सुरुवात हो नि । नत्र यो व्यस्त समयमा हामीलाई आफ्नो हालखबर सोध्ने फुर्सद कहाँ छ र ?’ 

डिप्रेसनले जीवनमा थुप्रै चुनौती थोपरे पनि यसलाई उनले अवसरका रूपमा लिएकी छिन् । हिजोआज उनले आफूलाई बुझ्न पाएकी छिन् । आफ्नो मनलाई सुन्न पाएकी छिन् । 

मानसिक स्वास्थ्यको खुलेर कुरा गर्न थालिसकेपछि आफ्ना अनुभव साट्न धेरैजना नीरुको सम्पर्कमा आउन थालेका छन् । धेरैले आफ्नो मानसिक स्वास्थ्यको समस्याबारे परिवारलाई थाहा नदिएको उनले पएकी छिन् । कुरा बाहिर गयो भयो भने काम नपाइएला भन्ने डर पनि मानिसहरूमा उत्तिकै भएको उनले बताइन् । 

जतिजना उनको सम्पर्कमा आउँछन् उनीहरूलाई काउन्सिलर र डाक्टरसँग जोडिदिने काम नीरुले गर्छिन् । आफ्नो समस्या दुनियाँलाई भन्न जरुरी नभए पनि डाक्टरलाई भन्न जरुरी छ भन्दै उनी सल्लाह दिन्छिन् ।  । ‘अहिले सबैको हातहातमा मोबाइल छ,’ उनले भनिन्, ‘एउटा क्लिकले राम्रो काउन्सिलिरसम्म पुर्‍याउँछ । संसारमा धेरै मान्छेहरू छन्, जो हाम्रो सहयोगका लागि तत्पर छन् । हामीले मात्र सहयोग मागे पुग्छ ।’ 

(तस्वीरहरूः नीरु खड्काको फेसबुकबाट)


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x