स्वास्थ्य

बौद्धिक अपाङ्गताबारे बुझौँ

इकागज |
मंसिर १६, २०७९ शुक्रवार १७:१२ बजे

उमेरको वृद्धिसँगै बौद्धिक विकास नहुनु, वातावरणसापेक्ष क्रियाकलाप गर्न समस्या हुनु बौद्धिक अपाङ्गताको अवस्था हो । यस्तो अवस्थामा हात खुट्टा चलाउन, शरीर सन्तुलनमा राख्न, बोल्न, दैनिक जीवनका सामान्य क्रियाकलाप गर्न कठिनाइ हुन्छ । बौद्धिक अपाङ्गता भएको बालबालिकालाई लुकाएर राख्नु हुँदैन । स्वास्थ्य संस्था वा अपाङ्गता क्षेत्रमा काम गर्ने विज्ञलाई देखाएर आवश्यक सल्लाह लिनुपर्छ । छिटो उपचार गर्दा बौद्धिक अपाङ्गता भएका बालबालिको अवस्थामा सुधार हुन्छ । यो समस्या धामी, झाँक्री वा झारफुकबाट निको हुँदैन । रूढिवादी सोच भएकाले बौद्धिक अपाङ्गतालाई पूर्वजन्मको कर्मसँग जोड्ने र हेयका दृष्टिले हेर्ने गर्छन् ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिको सिकाइ ढिलो हुने भएकाले उनीहरू उमेरसापेक्ष शारीरिक, सामाजिक, भाषिक, बौद्धिक आदि विकासमा पछि पर्छन् । सिकाइमा समस्या भएपनि उनीहरूले सिक्नै नसक्ने भने होइन । बौद्धिक अपाङ्गता भएका व्यक्ति जीवनभर अरूकै भरमा बाँच्ने भन्ने होइन । तर, यस्ता बालबालिकालाई शिक्षा र तालिमको अवसर न्यून हुँदा उनीहरू अरूमा निर्भर हुनुपर्छ । जसले उनीहरूको जीवन कष्टकर बनाइदिन्छ । 


उनीहरूलाई विशेष कक्षा वा नजिकको विद्यालयमा भर्ना गराउनुपर्छ । सानै उमेरदेखि सिक्ने अवसर दियो भने सिकाइ सहज हुन्छ । फुर्सदको समयमा उनीहरूसँग खेल्नुपर्छ । उनीहरूलाई साथीहरूसँग समूहमा खेल्ने अवसर जुटाइदिनुपर्छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिले पनि सिक्न र आत्मनिर्भर हुन सक्छन् । उनीहरूले आफ्ना दैनिक काम गर्न सक्दा अभिभावकलाई पनि सहज हुन्छ । यसका लागि उनीहरूलाई दैनिक क्रियाकलाप र आत्मनिर्भर हुने सीप सिकाउनुपर्छ । आफैँ दिसा/पिसाब गर्ने, हात धुने, दाँत माझ्ने, कपाल कोर्ने, नुहाउने, लुगा लगाउने, खाना खाने जस्ता कुरा अभ्यास गराउनुपर्छ । उनीहरूसँग नजिक हुने, विभिन्न कुरा सोध्ने र उनीहरूले सोधेका कुरा झर्को नमानी बताइदिने गर्नुपर्छ । आफूले गर्ने काममा उनीहरूलाई पनि सहभागी गराउनुपर्छ । उदाहरणका लागि आफूले भान्सामा काम गर्दा सँगै राखेर भान्साका भाँडाकुँडा, खानेकुरा आदि चिनाउने, चाख्न दिने गर्नुपर्छ । उनीहरूले सक्ने काम जस्तैः पानी सार्ने, चामलबाट बियाँ टिप्ने, तरकारी केलाउने काम लगाउनुपर्छ । तरकारी र फलफूलको नाम बताइदिनुपर्छ । उनीहरूले बिगार गर्दा गाली गर्नुहुँदैन । उनीहरूलाई आगो, पानी, बिजुलीको तार र काट्ने घोच्ने वस्तुबाट सचेत रहन सिकाउनुपर्छ ।

के कारण हुन्छ बौद्धिक अपाङ्गता ?

–    गर्भवतीलाई उपयुक्त पोषण र आराम नहुनु 
–    गर्भावस्थामा अत्यधिक शारीरिक परिश्रम गर्नु
–    गर्भवतीले स्वास्थ्य परीक्षण नगराउनु
–    गर्भावस्थामा अत्यावश्यक खोप तथा औषधी सेवन नगर्नु
–    धेरै मानसिक तनाव लिनु
–    गर्भावस्थामा चोटपटकहरू लाग्नु
–    जन्मान्तर कम वा बढी हुनु 
–    गर्भवती र गर्भमा रहेको शिशुको रगतको समूह नमिल्नु
–    उचित वातावरणमा सुत्केरी हुन नपाउनु 
–    लामो र पीडाजनक व्यथा लागेर बच्चा जन्मनु
–    बच्चा जन्मने क्रममा चोटपटकहरू लाग्नु 
–    जन्मनेबित्तिकै शिशु नरुँदा आवश्यक उपचार नहुनु,
–    तालिमप्राप्त स्वास्थ्यकर्मीको निगरानीमा वा स्वास्थ्य संस्थामा सत्केरी नहुनु
–    गर्भवती वा सुत्केरी अवस्थामा अत्यधिक रगत बग्नु

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूमा कस्ता समस्या देखिन्छन् ?

–    उमेरअनुसारको विकासमा ढिलाइ हुने
–    सम्झन र सोच्न कठिन हुने
–    सानातिना समस्या पनि समाधान गर्न गाह्रो हुने
–    सञ्चार तथा अन्तरक्रिया गर्न कठिन हुने
–    एक अवस्थामा सिकेको कुरा अर्को अवस्थामा प्रयोग गर्न गाह्रो हुने 
–    कम समय मात्र ध्यान केन्द्रित हुने 
–    आफ्नो हित र अधिकारबारे ख्याल नहुने
–    अनौठो वा अस्वाभाविक व्यवहार पनि देखाउने
–    वर्ण र शब्दको सही उच्चारणको समस्या हुने
–    वाक्य पूरा गरेर बोल्न नसक्ने
–    आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने
–    तर्क गर्न र कारण दिन नसक्ने
–    दोहोरो कुराकानी गर्न कठिनाइ हुने
–    प्रश्न सोध्दा प्रश्न नै दोहोर्‍याउने 
–    नाता लगाएर बोल्न नसक्ने 
–    लवाइ–खवाइ, सरसफाइ, सामानको प्रयोग र जतन जस्ता कुरामा ध्यान नदिने
–    आफूभन्दा सानो उमेरका बालबालिकासँग खेल्ने र रमाउने 
–    अरूका कुरा ध्यान दिएर नसुन्ने
–    पुरानो कुराको प्रस्ट सम्झना नहुने
–    भर्खरै दिएको निर्देशन पनि बिर्सिने
–    विद्यालयमा सिकेका कुरा घरमा प्रयोग गर्न नसक्ने, घरमा सिकेको कुरा घर बाहिर र विद्यालयमा उपयोग गर्न नसक्ने

बौद्धिक अपाङ्गता न्यूनीकरणका उपायहरू

–    गर्भवती हुनासाथ स्वास्थ्यकर्मीसँग सम्पर्क गरी चेक जाँच गर्नुपर्छ
–    गर्भावस्थामा पर्याप्त पोषिलो खाना खानुपर्छ 
–    आराम गर्नुपर्छ 
–    धूमपान, मद्यपान गर्नु हुँदैन 
–    धेरै पिर चिन्ता लिनु हुँदैन 
–    डाक्टरको सल्लाह बिना जथाभाबी औषधीको सेवन गर्नु हुँदैन 
–    तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउनुपर्छ 
–    आइरन चक्की सेवन गर्नुपर्छ 
–    बच्चा जन्मिसकेपछि ६ महिनासम्म आमाको दूध खुवाउनुपर्छ
–    बच्चालाई नौ महिना पूरा हुँदासम्ममा विभिन्न खोप दिनुपर्छ, पोलियो थोपाको खुवाउनुपर्छ 


Author

थप समाचार
x