स्वास्थ्य

बागमती प्रदेशमा डेँगु संक्रमितकाे संख्या ४२ हजार सात पुग्याे

इकागज |
मंसिर १९, २०७९ सोमबार २०:० बजे

काठमाडौँ- लामखुट्टेको टोकाइबाट हुने डेँगु रोगको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेँगुबाट संक्रमितको संख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेँगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ ।


काठमाडौँ जिल्लामा ११ हजार एक सय २७ डेँगुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेँगुका संक्रमित फेला परेको बताइएको छ । 

डेँगुको संक्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा  पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी प्रदेशमा हालसम्म डेँगु संक्रमणका कारण मृत्यु हुनेको संख्या  २३ पुगेको बताइएको छ । काठमाडौँका सात, सिन्धुली र रामेछापका तीन/तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई/दुई र धादिङका एक/एक जनाको मृत्यु भएको छ ।   


Author

थप समाचार
x