स्वास्थ्य

नियमक निकाय मूकदर्शक

सिरहामा अनुमतिविनाका अस्पताल र पोलिक्लिनिक छ्यापछ्याप्ती

इकागज |
मंसिर २०, २०७९ मगलवार ११:३८ बजे

सिरहा - सिरहामा अनुमतिविनै अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्पाप्ती खुल्न थालेका छन् । निमयनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौंको संख्यामा अनुमतिविनै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका  हुन् ।

स्थानीय तह, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिविना मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएको छ । लहान नगरपालिकामा मात्र सयौँको संख्यामा क्लिनिक तथा अस्पतालहरू संचालनमा रहे पनि जम्मा ४ वटा अस्पताल र ६ वटा क्लिनिकलमात्र अनुमति लिएको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले जानकारी दिए । 


स्वास्थ्य शाखा प्रमुख मण्डल आफैँले लहान ८ मा सन्चालन गरेको मण्डल क्लिनिकसमेत दर्ताको नभएको नाम नखोल्ने सर्तमा एकजना स्वस्थ्यकर्मीले बताए । उनले भने, ‘नियमनकारी निकायले नै दर्ता प्रक्रियाको लागि फाइल पेस गर्ने क्लिनिक तथा अस्पतालहरूसँग अवैध रकम लिएर सन्चालन गर्ने छुट दिएको छ।'

गोलबजार नगरपालिकामा विनादर्ताको अस्पताल तथा क्लिनिकहरू छ्यापछ्पाप्ती खुले पनि नियमनकारी निकाय मौन रहेको देखिन्छ। गोबजारको मुख्य बजारक्षेत्र ४ र ६ नम्बर वडा तथा ७ र ८ नम्बर चोहर्वामा अनुमितिविनै तीन दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरू नियम सञ्चालन भए पनि जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरू भने मौन छन् । 

सम्बन्धित् निकायबाट अनुमति नलिएको, विशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असुली गर्ने गरेको लगायतका जनगुनासो आए पनि नियमनकारी निकाय मौन भएर बसेका हुन् । 

गोलबजारमा मात्रै करिब तीन दर्जनभन्दा बढी मापदण्ड नपुगेका अस्पताल, पोलिक्लिनिक,र ल्याबहरू सन्चालनमा रहेको नगर स्वस्थ्य शाखाले जनाएको छ । 

स्वास्थ्य शाखा प्रमुख कर्णले क्लिनिकहरू धेरै खुलेका भए पनि केहीले अनुमतिको लागि कागजात पेस गरेका र चुनाव तथा जनप्रतिनिधिको व्यस्तका कारण अनुगमन गर्न नसकिएको बताए । उनले भने, ‘हामी योजना बनाउँदै छौं, अब तत्कालै सबै स्वास्थ्य संस्थाहरूको अनुगमन गरी प्रकृया पुगेकाहरूलाई अनुमति दिने र कारबाही गर्ने प्रक्रियामा जान्छौं ।’

जन स्वास्थ्य सेवा नियामावली अनुसार वार्षिक रूपमा नवीकरण फेल भएको तीन महिनाभित्र नवीकरण गर्नु पर्ने प्रावधान छ । तर, गोलबजारमा दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन।

जिल्ला बाहिर दर्ता भए पनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरीयल अस्पताल प्रा.लि.समेत गोलबजारमा सञ्चालनमा आएको छ ।  

गोलबजार नगर स्वास्थ्य शाखामा नवीकरणका लागि फाइल पेस गरिएका गोलबजार हेल्थ केयर सेन्टर, अजय डेन्टल, सगरमाथा मोडेल अस्पताल र एस पोलिक्लिनिक, भुमिजा हस्पिटलको करिब २ वर्षदेखि नवीकरण नै नगरिएको स्वस्थ्य शाखा प्रमुख कर्णले स्वीकारेका छन् ।  उनले भन्ने, ‘नगरभित्र सन्चालनमा रहेको १२ वटा स्वास्थ्य संस्थाले फाइल पेस गरेको भए पनि अनुगमन हुन नसकेको बताए।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ (१) मा कसैले पनि इजाजतपत्र नलिई गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख भए पनि सिरहामा भने कानुनलाई लत्याउँदै सयौँको संख्यामा मापदण्डविपरीत अवैध रूपमा पोलिक्लिनिक, औषधि पसल, अस्पताल, र ल्याबहरू सन्चालमा रहेका छन् । न्युज कारखाना


Author

थप समाचार
x