स्वास्थ्य

प्रदेश-२

होम आइसोलेशनमा बस्‍नेहरू भन्छन् : स्वास्थ्य अवस्थाबारे सोधीखोजी नै भएन

सुभाष कर्ण |
बैशाख १९, २०७८ आइतबार ७:१५ बजे

धनुषा : जनकपुरधाम उपमहानगरपालिका-२० का अनिल झालाई कोभिड-१९ संक्रमण भएपछि चार दिनदेखि होम आइसोलेशनमा छन् । तर उनको स्वास्थ्य अवस्थाबारे कुनै अस्पताल वा कोभिड रेस्पोन्स टीमले सोधीखोजी गरेको छैन । 

ज्वरो र खोकी लागेपछि उनले चिकित्सकको सल्लाहमा पीसीआर चेकजाँच गराउँदा संक्रमण देखिएपछि उनलाई चिकित्सकले होम आइसोलेशनमा बस्न चिकित्सकले सुझाएका थिए । संक्रमित भएको चार दिनसम्म ज्वरो, खोकी, घाँटी दुख्‍नेलगायतका समस्या देखिए पनि कसैले सोधीखोजी गरेको छैन । झालाई थप समस्या परे कता जाने ? के गर्ने ? भन्‍ने चिन्ताले सताएको छ । 


झा मात्रै होइन जनकपुरधामकै प्रभातचन्द पोखरेलको पनि अवस्था उस्तै छ । होम आइसोलेशनमा बसेको तीन दिनसम्म अस्पताल वा कोभिड रेस्पोन्स टीमका कुनै फोकल पर्सनले सोधीखोजी गरेका छैनन् । 

जनकपुरधाम-८ का दिपेन्द्र सिंह संक्रमण देखिएपछि दुई दिनदेखि होम आइसोलेशनमा छन् । अहिलेसम्म उनको स्वास्थ्य अवस्थाबारे कसैले सोधखोज गरेको छैन । मोबाइलमा कोभिड-१९बाट बच्‍ने विभिन्‍न उपाय हेरेर त्यसै अनुरुप गरिरहेको, तर सरकारी स्तरबाट कुनै पनि चिकित्सक वा अस्पतालले आफूलाई सोधखोज नगरेको बताउँछन् । 

यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता समस्या होम आइसोलेशनमा बस्‍ने सबैका छन् । तर, सरकारबाट कुनै चासो देखाइदैन । 

होम आइसोलेशनमा बसेका संक्रमितहरूको हेरचाहका लागि प्रत्येक स्थानीय तहमा स्वास्थ्यकर्मीको एक कोभिड रेस्पोन्स (सीआईसी) टीम नै बनाइएको छ । टीमले होम आइसोलेशनमा बसेका संक्रमितहरूको सम्पर्कमा अहिलेसम्म गएको छैन । 

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेश २ मा दुई हजार एक सय ३६ सक्रिय संक्रमितमध्ये दुई हजार ४६ होम आइसोलेशनमा बसेका छन । तर तिनीहरूले अहिलेसम्म न कुनै उपचार पाएका छन्, न कुनै चिकित्सकीय परामर्श नै, न कुनै निकायले सोधीखोजी गरेको छ । 

प्रदेशका स्वास्थ्य निर्देशनालयले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने र सहयोग गर्न सम्बन्धित स्थानीय तहमा रहेका स्वास्थ्य चौकीलाई जिम्मा दिएको छ । प्रत्येक स्थानीय तहमा फोकल पर्सनको नेतृत्वमा सीआईसी टीममार्फत होम आइसोलेशनमा बसेकाहरूको हेरचाह गर्ने भनिएको छ । 

स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. कमलेश मण्डल होम आइसोलेशनमा बसेकाहरूलाई कुनै समस्या नरहेको बताउँछन् । उनी भन्छन्, ‘प्रत्येक स्थानीय तहमा सीआईसी टीम गठन गरी होम आइसोलेशनमा बसेकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छौं । कुनै समस्या छैन ।’ तर होम आइसोलेशनमा बसेकाहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे सोधीखोजी त के एक कल फोनसम्म कसैले नगरेको बताउँछन् । 

प्रदेशका स्थानीय तहमा गठित सिआईसी टीमसँग आफ्नो क्षेत्रभित्र कति संक्रमित होम आइसोलेशनमा छन भन्‍ने यकिन तथ्यांकसम्म छैन । सम्बन्धित अस्पतालले उपलब्ध गराएको तथ्यांकको आधारमा उनीहरूले काम गर्दै आएका छन । होम आइसोलेसनमा बसेकाहरूलाई परामर्श सेवा नभएकाले धेरै संक्रमितले स्वास्थ्य समस्या भोगिरहेका छन् । 

जनकपुरधाम उपमहामनगरपालिका सीआईसी टीमका फोकल पर्सन विनय पजियारले केही समय अगाडिसम्म होम आइसोलेशनमा बसेकाहरूलाई समस्या भए पनि अहिले नरहेको बताउँछन् । उनी भन्छन्, ‘केही दिन पहिलासम्म होम आइसोलेशनमा बसेकाहरूलाई समस्या थियो, तर अहिले छैन ।’ जनकपुरधाम उपमहानगरपालिकामा ५ सदस्यीय सीआइसी टीम गठन गरिएको छ । प्रत्येक सदस्यलाई ५/५ वटा वडा जिम्मेवारी दिइएको छ । 

टीमलाई संक्रमित भएकाहरूको कन्ट्रयाक्ट ट्रेसिङदेखि अनुगमन गर्नेसम्मको जिम्मेवारी दिइएको छ । ‘प्रत्येक वडामा पुगेर होम आइसोलेशनमा बसेकाहरूको अनुगमन गर्दै चिकित्सकीय परामर्श अनुसार औषधि लिन सल्लाह दिइरहेको छौं, थप उपचारको आवश्यकता भएकालाई अस्पताल पुर्‍याउने गरेका छौं,’ पंजियारले भने ।
 
महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले आफ्नो जिम्मेवारी संक्रमित भएकाहरूको तथ्यांक स्थानीय तहलाई दिने मात्र भएको बताइन् । उनले भनिन्, ‘होम आइसोलेशनमा बसेकाहरूको हेरचाह र अनुगमनको जिम्मेवारी स्थानीय तह अन्तर्गतको सीआइसी टीमलाई दिइएको छ । हाम्रो जिम्मेवारी संक्रमित भएकाहरूको तथ्यांक सम्बन्धित स्थानीय तहलाई दिने मात्रै हो ।’
 
आफूले उपलब्ध गराएको तथ्यांकका आधारमा सम्बन्धित स्थानीय तहले कन्ट्रयाक्ट ट्रेसिङ र होम आइसोलेशनमा बसेकाहरूको अनुगमन गर्ने जिम्मेवारी भए पछि स्थानीय तहले किन अनुगमन गरिरहेका छैनन् त्यो आफूलाई थाहा नभएको उनले बताइन् । 

धनुषा र महोत्तरी मात्रै होइन, प्रदेश-२ का कुनै पनि जिल्लामा होम आइसोलेशनमा बसेकाहरूको हेरचाह, अनुगमन वा उपचार सम्बन्धित फोकल पर्सन र सीआईसी टीमले नगरेको आरोप संक्रमितहरूको छ । 

यस पटक सरकारको बेवास्ताका कारण कुनै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेशन निर्माण गरिएको छैन । उचित व्यवस्थापनको आभावमा करोडौ रुपैयाँ खर्चेर निर्माण गरिएका कोभिड अस्पतालहरू पनि प्रयोगविहिन भएका छन् । संक्रमित भएकामध्ये गम्भीर समस्या रहेका बाहेक सबैलाई होम आइसोलेशनमा बस्‍न सुझाव दिने गरिएको छ । तर चिकित्सकीय सल्ला सुझावबारे कुनै चासो दिइएको छैन । 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x