स्वास्थ्य

स्वास्थ्यमन्त्रीकाे चेतावनी : नर्सलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताल नै खारेज गर्छौं

इकागज |
माघ १५, २०७९ आइतबार १४:५० बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।​

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरूलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरूमाथि अनुगमन गरी तथ्य र प्रमाणका आधारमा कारबाही हुने बताएका हुन । आइतबार काठमाडौँमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले आफूले मासिक ८/१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरूले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल अनुगमन गर्ने घोषणा समेत गरे ।


मन्त्री गिरीले नर्सहरूको श्रम शोषण गर्ने अस्पतालसहितका स्वास्थ्य संस्थाहरूको नवीकरण नगर्नेदेखि लिएर संस्था नै खारेज गर्न सरकार बाध्य हुनेतर्फ पनि सचेत गराए । उनले नर्सहरूलाई अनलाईन पेमेन्टको व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिए ।

मन्त्री गिरीले कोभिड कालमा नर्सहरूले आफ्नो जीवनलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनीहरूलाई आवश्यक तलब भत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।


Author

थप समाचार
x