स्वास्थ्य

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

इकागज |
माघ २१, २०७९ शनिबार १२:२९ बजे

काठमाडौँ-  जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्‍घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । ' नेपालको स्वास्थ्य क्षेत्र विकराल छ । जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्‍ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,' मन्त्री गिरीले भने,'हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ ? गरिबले पनि कसरी गुणस्तयरीय सेवा पाउन सक्छन् । यस विषयमा खोज गरेर कलम चलाइदिनुस् । हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् । ' 


उनले थपे, 'स्वास्थ्य क्षेत्रका बेथिति, भ्रस्ट्राचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठूलो योगदान हुन्छ । हामी जिम्मेवारीमा छौं, तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।' स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्‍त्रालय सम्हालेको मन्त्री गिरीको भनाइ थियो । उनले एकैचोटी सबै समस्या समाधान गर्न गाह्रो भए पनि  आम जनताले महसुस गर्नेगरी काम गर्ने बताएका थिए ।  यसका लागि पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेको पनि उनको भनाइ थियो । 


Author

थप समाचार
x