स्वास्थ्य

हात्तीपाइलेको औषधी हात्तमा दिएर जान्छन् स्वास्थ्यकर्मी, धेरैले खाँदैनन्

इकागज |
फागुन १७, २०७९ बुधबार २१:४१ बजे

फाइल तस्बिर

धनगढी- कैलालीमा ११ औं चरणमा सुरु भएको हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मीको औषधी खुवाउने पुरानै शैली दोहोरिएको पाइएको छ ।

फागुन ११ गतेदेखि सुरु भएको आम औषधी सेवन कार्यक्रम अन्तरगत यस पटक स्वास्थ्यकर्मीको आफ्नो प्रत्यक्ष निगरानीमा मात्रै औषधी सेवन गराइनु पर्ने नीति रहेको छ । तर, स्वास्थ्यकर्मीले भने यसअघिकै शैलीमा हातमा औषधी दिएर जाने गरेका छन् । 


‘मंगलबार स्वास्थयकर्मी आएर औषधी खानुहोला भन्दै ट्याब्लेट दिएर गएका छन्,’ धनगढी–४ चटपकुरमा होटेल व्यवसाय गरिरहेका प्रेम भट्टले भने, ‘पहिला यति धेरै औषधीका ट्याब्लेट दिँदैनथ्यो यस पटक औषधी बढाएर दिइएका छन्, स्वास्थ्यकर्मीले कागजमा दिएको औषधी र्‍याकमा राखेको छु ।’

सोही ठाउँकी व्यवसायी स्मृति ओझाले पनि स्वास्थ्यकर्मी आएर औषधी दिएर गएका बताइन् । दुई/तीन जना स्वास्थ्यकर्मी आएर औषधी खानुहोला भनेर छोडेर गएका उनले बताइन् । ‘९ ट्याब्लेट औषधी दिएर खानुहोला भन्दै स्वयंसेविकाले दिएर गएका छन्,’ उनले भनिन्, ‘हातमा औषधी दिएर कसैले खाँदैन, यसरी औषधी खुवाउने कार्यक्रम सफल पनि हुँदैन ।’

पसल–पसलमा आउने स्वयंसेविकाले पसलमा आबद्ध मानिसको संख्या हेरेर सोही अनुसार औषधी छाडेर गएका उनले बताइन् । ‘पसलमा कति जना हुनुहुन्छ भनेर सोधे,’ उनले भिनन्,’ हामीले चार जनाको विवरण दियौं, सबैलाई औषधी खानुहोला भनेर कागजमा बेरेर दिएका छन् ।’

मंगलबार मात्रै चटरपुर स्थित शहिद गेट आसपासका सबै व्यवसायीलाई स्वास्थ्यकर्मीले हातमा औषधी दिएर गएका ओझाले बताइन् । 

धनगढी–५ का विकास रानाले पनि विगत जस्तै यस पटक पनि स्वास्थ्यकर्मीले हात, हातमै औषधी दिएर गएका बताए । ‘स्वास्थ्यकर्मी घर घरमै आएर परिवारका सदस्यको संख्यामा आधारमा औषधी दिएर गएका छन्,’ उनले भने, ‘त्यसरी दिएको औषधी कतिले खान्छन्, कतिले खाँदैनन् ।’ विगतमा पनि स्वास्थ्यकर्मीले हातमा औषधी दिएर खानुहोला भनेर जाने गरेका भन्दै उनले भने, ‘यस पटक पनि त्यसै गरी औषधी दिएर गएका छन् ।’

सरकारले गत वर्षदेखि हातमा औषधी दिन नपाइने र स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवाउनु पर्ने व्यवस्था गरेको छ । हातमा औषधी दिँदा धेरैले नखाने गरेका कारण स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवाउने नीति ल्याइएको हो । औषधी खुवाउने कार्यक्रममा स्वयंसेविकासंगै स्वास्थ्यकर्मीलाई समेत परिचालन गरिएको छ । 

तर, स्वास्थ्यकर्मीले समेत औषधी हातमा दिएर जान थालेपछि कैलालीमा ११औं चरणमा औषधी खुवाउने अभियान पनि सफल हुनेमा आशंका उत्पन्न भएको छ । 

गत वर्षदेखि कैलालीमा तीन प्रकारको औषधी खुवाइने गरिएको छ । औषधी खुवाउँदा उमेर अनुसार ९ वटा ट्याब्लेटसम्म खुवाउनुपर्ने हुन्छ । ती औषधी खाना खाएपछि स्वास्थ्यकर्मीकै निगरानीमा खुवाइनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रमका सम्पर्क व्यक्ति मिनबहादुर धामीले बताए । 

‘विगतमा स्वयंसेविकालाई मात्रै खटाएर औषधी खुवाउँदा धेरै मानिसले औषधी खाएनन्,’ सम्पर्क व्यक्ति धामीले भने, ‘त्यसैले गत वर्षदेखि स्वयंसेविकासंगै स्वास्थ्यकर्मीलाई पनि खटाएर उनीहरूकै निगरानीमा मात्रै औषधी खुवाउने नीति ल्याइएको छ, हातमा औषधी दिएर जान पाइँदैन ।’

घरघरमा जान स्वयंसेविकाले सहजीकरण गर्नुपर्ने र स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानीमा औषधी खुवाउने पर्ने उनले बताए । ‘पहिलो दिन घरमा कोही भेटिएन वा कुनै व्यक्तिले खाना खाएको छैन भने त्यसतो ठाउँमा दोश्रो दिन पनि जाने गरी स्वास्थ्यकर्मी परिचालन गरेका छौं,’ उनले भने, ‘हामीले विभिन्न ठाउँमा अनुगमन गर्दा हातमा औषधी दिएको भेटाएका छैनौं, तर धनगढीमा हाताहातमा औषधी दिने गरेको भन्ने सुनियो त्यसबारेमा छानबिन गर्ने छौं ।’

धामीका अनुसार कैलालीका फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने अभियान सञ्चालन गरिने छ । कुनै पनि व्यक्ति नछुटुन् भनेर औषधी खुवाउने अभियान लामो समयसम्मका लागि सञ्चालन गरिएको उनले बताए । 

कैलालीको कूल जनसंख्या मध्य कम्तीमा ८० प्रतिशत नागरिकलाई औषधी खुवाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनले बताए । गत वर्ष कैलालीमा ८० दशमलव ८ प्रतिशत नागरिकले औषधी खाएको तथ्याङ्क छ । 

यसअघि कैलालीमा ९ पटकसम्म औषधी खुवाउने कार्यक्रम सञ्चालन गरिए पनि लक्ष्य पूरा हुन नसक्दा कार्यक्रम विफल भएका थिए । लगातार ५ वर्षसम्म ६० प्रतिशत नागरिकले औषधी खानुपर्ने भए पनि कैलालीमा त्यस अनुसार औषधी नखाएपछि हात्तीपाइले रोग निवारण कार्यक्रम ९ पटकसम्म सञ्चालन गरिएको थियो । ९ पटकसम्म दुई प्रकारका औषधी मात्रै खानु पर्ने प्रावधान राखिएको थियो । 

९ पटकसम्म ६० प्रतिशत नागरिकले औषधी नखाएपछि कैलालीमा गत वर्षदेखि तीन प्रकारका औषधी खुवाइन थालिएको छ । तीन प्रकारका औषधी खुवाइँदा दुई वर्षसम्म लगातार ८० प्रतिशत नागरिकले औषधी खानुपर्ने हुन्छ । लगातार ८० प्रतिशत नागरिकले औषधी नखाएमा कैलालीमा आगामी वर्ष पनि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन अभियान सञ्चालन हुन सक्ने छ  । मोहन जोशी/न्युज कारखाना


Author

थप समाचार
x