स्वास्थ्य

प्रदेश अस्पतालमै छैन मनोचिकित्सा सेवा

इकागज |
फागुन २९, २०७९ सोमबार ८:२९ बजे

मकवानपुर - नेपालको संविधानले सबै  नागरिकलाई स्वास्थ सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ । तर यहाँ भौतिक, आर्थिक तथा अन्य सामाजिक रूपमा मात्रै हैन मनोसामाजिक रूपमा समेत प्रसस्तै विभेदहरू भेटिन्छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडास्थिति मदनभण्डरी स्वास्थ विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताल प्रदेश स्तरको अस्पताल हो । अस्पतालबाट दैनिक करिब ७ सय जनाले सेवा लिने अस्पतालमा ८८ जना विशेषज्ञ डाक्टरहरू कार्यरत छन् । अन्य समेतगरी ३८७ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । तर मनोसामाजिक समस्या भएकाहरूले आफ्नो अस्पताल भनेर अपनत्व गर्न पाउने अवस्था छैन । किनकी मनोसामाजिक चिकित्सा सेवाको लागि यहाँ कुनै सुविधा छैन ।


८८ जना विशेषज्ञ डाक्टरहरू रहेको यो अस्पतालमा मनोचिकित्सा सेवा नहुँदा यससम्बन्धी सामान्य उपचार लिन पनि चितवन वा काठमाडौँ नै धाउनुपर्ने बाध्यता छ ।

आफैंले धेरै पहल गर्दासम्म मनोचिकित्सक नपाउँदा बाध्य भएर बिरामी रिफर गर्न परेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाइले बताए ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ खण्ड ७ को ३५ नम्बर बुँदामा उल्लेख भए अनुसार मानसिक तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूको उपचारको व्यवस्था माग हुँदै आएको प्रसाईंले बताए ।

मनोसामाजिक स्वास्थको सवालमा कार्यरत संस्था कोशिशको पहलमा विभिन्न सरोकारवाला संस्थाहरूका प्रमुख तथा पदाधिकारीहरूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान एवम् हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई ज्ञापन पत्र दिंदै यस्तो माग गरेको थियो ।

मनोसामाजिक अपाङ्गगता भएका व्यक्तिहरूको समूह साथै कोशिश मकवानपुरको समन्वयमा ऐक्यवद्धतासहित ज्ञापन पत्र पेस गरिएको हो । सबै प्रकारका अपाङगता भएका सदस्यहरूको सञ्जाल संयोजक प्रताप तितुङ र मानोसामाजिक अपाङगता भएका समूहका सदस्य कान्छी तामाङ्गले रजिष्टार राजेश प्रसाईंलाई ज्ञापन पत्र दिएका हुन् ।

उक्त ऐनमा उल्लेख भए अनुसार व्यवस्था व्यवहारमा लागू नहुदा मनोसामाजिक समस्या भएका व्यक्तिहरू उपचारमा सहज पहुँच नभएको भन्दै यस्तो माग गरिएको हो । नेपाल राष्ट्रिय अनुसन्धान परिषद्ले सन् २०१७ देखि २०२० सम्म गरेको अनुसन्धान अनुसार बागमती प्रदेशमा करिब १२ प्रतिशत व्यक्तिमा कुनै कुनै किसिमको मानसिक स्वास्थ्य समस्या छ ।

मकवानपुरमा पनि उपलब्ध मानसिक स्वास्थ्य सेवालाई निकै कहाली लाग्दो अवस्थामा रहेको कोशिशको पैरवी अधिकृत सुनिरा लामाले बताइन् । प्रदेश राजधानी भएको मकवानपुर जिल्लामा समेत मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवाको सुविधा लिनबाट बञ्चित हुनुपरेको उनले बताइन् ।

२१ औं शताब्दीमा पनि विशेषज्ञ सेवाको अभावमा, परम्परागत उपचार पद्धति, धामीझाकिमा केन्द्रित विश्वास साथै भएका श्रोत साधनहरूको यथोचित सदूपयोग हुन नसकेको ज्ञापन पत्रका उल्लेख गरिएको छ ।

जसको कारण उपचारमा चुनौती निरन्तर थपिरहेको ज्ञापन पत्रमा उल्लेख छ । सामान्य उपचारको लागि पनि काठमाडौं, विरगञ्ज र चितवन लगायतका शहरहरूमा जानुपर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको छ । यसैको कारण रोगको भारले झन् थप समस्या भएको पैरवी अधिकृत लामाले बताइन् ।

मानसिक सुस्वास्थ्य समस्या भएकै कारण आत्महत्यको समस्या समेत बढेको प्रताप तितुङले बताए । नेपाल प्रहरीको तथ्याङ्गअनुसार मकवानपुर जिल्लामा आत्महत्या दर प्रत्येक वर्ष बढ्दो रूपमा रहेको उनले बताए । मकवानपुर जिल्लामा मानसिक स्वास्थ्य सेवाको अवस्थामा देखिएको खाडललाई स्वास्थ्य मन्त्रालय बागमती प्रदेश सरकारले विभिन्न पहलकदमी गरिरहे बताइएको छ ।

प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा मानसिक स्वास्थ्य सेवाका लागि मनोचिकित्सक सहितको युनिटको व्यवस्था गरेको तर हाल चिकित्सक नहुँदा सेवाग्राहीहरूले मनोचिकित्सकिय सेवा लिन नपाएको प्रति उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।

चिकित्सक नहुँदा सेवाग्राहीहरू तथा औषधि खाइरहेका व्यक्तिहरूले औषधि बीचैमा छाड्ने वा सेवाको निरन्तरता नहुँदा झन् जटिल अवस्था सृजना गर्ने हो कि भन्ने अवस्था आएको भन्दै छिटोभन्दा छिटो यसको व्यवस्था हुनु पर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा मानोसामाजिक अपाङगता भएका समुहका अविभावक उषा पाखरीन,मानोसामाजिक अपाङगता भएका समूहका सदस्य सपना घलान, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, माइती नेपाल मकवानपुर प्रमुख माया तामाङ, हिमराइट मकवानपुर प्रमुख कुमारी वाईवा सिविन बाल हेल्प लाइनका प्रबन्धक झविन्द्र ज्ञावाली, कोशिश पैरवी अधिकृत सुनिरा लामा, सामुदायिक अभियानकर्ता सकुन्तला पौडेल, कल्पना अधिकारीलगायतको उपस्थिति थियो ।

ज्ञापन पत्र बुझ्दै रजिस्ट्रार प्रसाईंले प्रतिष्ठानबाट विज्ञापन नै खुलाएर मनोसामाजिक उपचारको लागि डाक्टर माग गर्दा समेत नपाएको तर आफूहरूले पहल जारी राखेको बताए । आकर्षक आर्थिक सुविधासहित नयाँ चिकित्सक राख्नको लागि प्रतिष्ठान तयार रहेकोले, सामाजिक संस्थाको सहायताले चिकित्सक सम्पर्कमा ल्याइदिन उनले आग्रह गरे ।


Author

थप समाचार
x