स्वास्थ्य

बिरामी निको पार्ने वैद्यखाना आफैँ बिरामी, औषधि उत्पादन कम, खर्च बढी

अतिन आचार्य |
बैशाख २६, २०८० मंगलबार ११:५५ बजे

काठमाडौँ- सिंहदरबार वैद्यखाना विकास समितिले यो वर्ष लक्ष्य भन्दा कम औषधि उत्पादन गरेको छ । यस वर्ष वैद्यखानाले ३१२ किसिमका औषधि उत्पादन गर्ने लक्ष्य राखे पनि ७६ किसिमका मात्र औषधि उत्पादन गरेको हो ।

औषधि उत्पादन गर्ने जनशक्ति नहुँदा र औषधिका लागि आवश्यक कच्चा पदार्थ नहुँदा समितिले लक्ष्य बमोजिम औषधि उत्पादन गर्न  नसकेको हो । 


समितिले मागबमोजिम र लक्ष्यअनुसार औषधिको उत्पादन नगर्दा उल्लेखनीय रुपमा बिक्री बढाउन सकेको छैन । 

वैद्यखानाले अविपत्तिकर चूर्ण, अजमोदादि चूर्ण, अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, ककुभादी चूर्ण, घोटी चूर्ण,  चन्दनादि चूर्ण,  जेष्ठासादि चूर्ण,  जेष्ठलवंगादि चूर्ण, द्रक्षादी लगायतका औषधि उत्पादन गर्ने गरेको छ ।

यस वर्ष मात्र समितिले च्यवनप्राश अवलेह, सुगर फ्रि च्यवनप्राश,  स्पेशल च्यानप्राश, षडविन्दु तैल, कैशोर गुग्गुल, तुलसी चिया, अविपत्तिकर चूर्ण,  अश्वगन्धा चूर्ण, त्रिफला चूर्ण,  हिंगवाष्टक चूर्ण,  सन्दिपन चूर्ण, पंचसकार चूर्ण, हरिद्रा खण्ड र शुद्ध शिलाजित लगायतका औषधि उत्पादन गरेको जनाएको छ । 

पर्याप्त बजेट नहुँदा र समयमा जडिबुटी आयात गर्न नसक्दा आशा गरेबमोजिम औषधि उत्पादन गर्न नसकिएको वैद्यखानाका एक कर्मचारीले बताए । ‘स्रोतसाधनको अभाव भएकाले आवश्यक र बिरामीको माग अनुसार मात्र औषधि उत्पादन गरिएको छ,’  ती कर्मचारीले इकागजसँग भने,’ विकास समितिसँग पर्याप्त बजेट नहुँदा पनि आवश्यक मात्रामा औषधि उत्पादन गर्न सकिएको छैन ।‘ 

वैद्याखाना समितिमा हाल कुल ६४ कर्मचारीको दरबन्दी छ । तर, समितिका लागि मुख्य-मुख्य पदमा आवश्यक कर्मचारी नहुँदा प्रत्यक्ष रुपमा औषधि उत्पादनमा असर परेको छ । प्रमुख औषधि उत्पादन अधिकृत १, प्रमुख अनुसन्धान तथा गुणस्तर अधिकृत १ र औषधि कुटुवा लगायतका ४३ पद रिक्त रहेका छन् ।

महालेखा परीक्षकको कार्यालय प्रतिवेदन २०७९ ले लक्ष्यअनुसार औषधि उत्पादन कम हुँदा वैद्यखानाको आम्दानी घट्न गएको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार १ करोड ८१ लाख ७५ हजार रुपैयाँको औषधि बिक्री भएको थियो ।

गत साल ४ करोड ३५ लाख ७१ हजार खर्च हुँदा १४० प्रतिशत घाटा हुन पुगेको छ । प्रतिवेदनले समितिलाई आय भन्दा व्यय बढी भएकाले खर्च घटाएर बिक्री बढाउनुपर्ने सुझाव दिएको छ । समितिको २०७७/०७८ को आ.ब मा २ करोड ६५ लाख १ हजारको औषधि बिक्री भएको थियो । सोही वर्ष ५ करोड २९ लाख ४४ हजार रुपैयाँ खर्च देखिएको थियो ।

यो वर्ष समितिले सरकारी अनुदानबापत १ करोड ५० लाख ७ हजार रुपैयाँ प्राप्त गरेको थियो । कूल आम्दानी १५ करोड ३८ लाख ८७ हजार रुपैयाँ गरेको थियो । जसमध्ये ४ करोड ३६ लाख ८९ हजार खर्च भएको थियो । प्रतिवेदनले समितिसँग ११ करोड १ लाख ९८ हजार रुपैयाँ मौज्दात रहेको प्रस्ट पारेको छ ।

वैद्याखाना समितिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाट पाउनुपर्ने मासिक भाडा पाउन सकेको छैन । समिति र श्वासप्रश्वास उपचार केन्द्रबीच मासिक रुपमा ४० हजार रुपैयाँ भाडा पाउने सम्झौता भएको थियो । समितिले २०७५ असारदेखि २०७९ फागुनसम्म पनि भाडा पाउन सकेको छैन । समितिले  २२ लाख ४० हजार घर भाडा लिन बाँकी रहेको छ । 

समितिका अनुसार भाडाका लागि बारम्बार ताकेता गर्दा पनि पाउन नसकेको छैन । केन्द्रले भाडा माग्दा पनि उपलब्ध गराउन नसक्नु दुःखद रहेको इकागजलाई समितिका कर्मचारीले बताए ।

त्यसैगरी, वैद्यखानाभित्र समितिको ५ तले भवन बने पनि प्रयोगमा ल्याउन नसकिएको प्रतिवेदनले उल्लेख गरेको छ । समिति आफूले प्रयोग नगरे पनि उक्त भवनलाई भाडामा समेत दिन सकेको छैन । 

समितिले भवनलाई आय-आर्जनका लागि प्रयोगमा ल्याउनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । भवन १२ करोड १२ लाख १७ हजार रुपैयाँमा उक्त भवनको निर्माण भएको थियो । निर्माण भइसकेको भवन समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउँदा पनि प्रयोगमा ल्याउन ध्यान नदिएको प्रतिवेदनले जनाएको छ । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x