स्वास्थ्य

'खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन'

इकागज |
जेठ १७, २०८० बुधबार १४:५२ बजे

काठमाडौँ- विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन भन्ने नाराका साथ दिवस मनाइएको हो ।

दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोग निम्त्याउने गरेको भन्दै सुर्तीजन्य सेवन त्यागी स्वस्थ जीवनयापन गर्न अनुरोध गरे ।


सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, कानुन पारित भई लागू भइसकेको उनले बताए । उनले स्वास्थ्य क्षेत्र सुधारका लागि कार्ययोजना बनाउन कर्मचारीलाई सुझाव दिँदै यसमा आफ्नो पूर्ण साथ रहने बताए ।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र उक्त सङ्कलित करबाट आर्थिक रूपमा विपन्न नागरिकको उपचार खर्च गर्ने कार्य प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण विश्वभर ८० लाख मानिसको मृत्यु हुने गरेको छ । मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । 


Author

थप समाचार
x