स्वास्थ्य

हिल भएकाे जुत्ता-चप्पल किन हानिकारक मानिन्छ ?

इकागज |
जेठ २७, २०८० शनिबार १४:४६ बजे

हिल भएकाे जुत्ता-चप्पल महिलाहरूमा लोकप्रिय छ । हिल भएको जुत्ता-चप्पल लगाउनु आजभोलि फेसन नै भएको छ । देख्दा आकर्षित देखिए पनि यो जुत्ता लगाएर हिँड्न भने निकै मुस्किल हुन्छ । किनभने, हिल खुट्टाका लागि आरामदायी जुत्ता होइन । लामो समय हिल लगाउँदा पैताला, घुँडा, ढाड, कम्मर, खुट्टामा असर गर्छ । यसले मांसपेशीहरूमा अस्वाभाविक दबाब सिर्जना गरेर मनलाई समेत अशान्त बनाउँछ । 

हिल जुत्ता नलगाउँदा शरीरको तौल सबैतिर बराबर हुन्छ । तर, हिल जुत्ता लगाउँदा तौल कतै धेरै कतै थोरै पर्न जान्छ । हिल जुत्ताले कुर्कुच्चालाई उठाउँछ । कुर्कुच्चा उठ्दा शरीरको भार अगाडि धकेलिन्छ । हिल लगाउँदा कम्मर निहुरिन्छ । यसले शरीरको मेरुदण्डमा समस्या पार्छ । जसकारण ढाडको नसामा दबाब पर्छ र नसाहरू जेलिन्छन् । 


हाम्रो शरीरको पूरा भार खुट्टाले नै थामेको हुन्छ । निरन्तर हिल जुत्ता लगाउँदा दबाब भएर खुट्टाको हड्डी कमजोर हुने सम्भावना हुन्छ । हिलले तत्कालीन रूपमा दुर्घटनाको जोखिम बढाउँछ भने दीर्घकालीन रूपमा शरीरमा विभिन्न समस्या निम्त्याउँछ । 

हिल जुत्ताले खुट्टाको स्वरूप बिग्रिने, सुन्निने र दुख्ने हुन्छ । पैताला दुख्ने र कुर्कुच्चा सुन्निने समस्या पनि हुने गर्छ । पैतालाको मांसपेशी तन्किएर दीर्घकालीन रूपमा नसासम्बन्धी रोगको सम्भावना समेत हुन्छ । अग्लो हिल लगाउँदा घुँडा र मेरुदण्डमा नकारात्मक असर पर्छ । घुँडामा दबाब परेपछि ढाड र कम्मरको समस्या देखिन्छ । 

ढाडको समस्या
हिल जुत्ता लगाउँदा खुट्टालाई सहज हुँदैन । शरीरमा असन्तुलन पैदा गर्छ । मेरुदण्डमा असन्तुलन हुँदा ढाड दुख्छ । आजभोलि धेरैको रोजाइमा पेन्सिल हिल पर्ने गरेको छ । त्यसले झनै ढाड दुखाउँछ । त्यसैले लामो समय हिल जुत्ता लगाउनु हुँदैन । 

पैतालामा पीडा 
लामो समय हिल जुत्ता लगाउँदा पैतालामा समस्या हुन्छ । हिल जुत्ताले शरीर सन्तुलन नगर्ने भएकाले पैताला दुख्ने र पोल्ने समस्या देखिन्छ । 

खुट्टा मर्किने समस्या
हिल जुत्ता जतासुकै लगाएर हिँड्न सकिँदैन । कच्ची सडक, उकालो–ओरालो हिँड्दा खुट्टा चिप्लिएर मर्किन सक्छ । शरीरमा चोट लाग्न सक्छ । त्यसैले, हिल जुत्ता लगाउँदा निकै ध्यान पुर्‍याउनु पर्छ । 

घुँडा दुख्ने समस्या
अग्लो जुत्ताले घुँडामा बढी दबाब पर्छ । त्यसले गर्दा बिस्तारै घुँडा खिइँदै जान्छ । पोइन्टेट हिल लगाउँदा शरीरको सम्पूर्ण तौल खुट्टामा पर्ने भएकाले घुँडामा पनि असर पर्छ ।

समाधान के ?

  • हिल लगाउनै परे पनि पेन्सिल हिल होइन ब्लक हिल रोज्नुपर्छ । यसले शरीरको भारलाई समान रूपमा थेग्छ । 
  • हिल जुत्ताले घुँडामा असर पर्ने भएकाले नरम सोल भएका जुत्ता लगाउनुपर्छ ।
  • आफूलाई फिट हुने जुत्ता चप्पलको साइज छानेर मात्र किन्नु पर्छ । 
  • जुत्ता किन्नुभन्दा अगाडि एक पटक लगाएर हेर्नुपर्छ । यसो गर्दा सजिलो छ/छैन थाहा हुन्छ ।
  • लगाउँदा असहज महसुस भयो भने त्यस्ता जुत्ता किन्नु हुँदैन । 
  • धेरैले जुत्ता किन्दा तन्किन्छ/खुल्छ भनेर आफ्नो साइजभन्दा सानो किन्छन् । जुन गलत हो । 


Author

थप समाचार
x