स्वास्थ्य

मृतकको संख्या बढाउँदै कोभिड, मन्त्रालय र मन्त्री बढाउँदै सरकार

लक्ष्मी भण्डारी |
जेठ ५, २०७८ बुधबार १४:२ बजे

सुर्खेत : एकातिर सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही दुईजना मन्त्री थप्दै थिए । अर्कोतिर प्रदेश अस्पतालले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्यामा १३ जनाको नाम थप्दै थियो । 

मुख्यमन्त्री शाहीले उक्त दिन आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई पुन: नियुक्ति गरेका थिए । जेठ एक गते प्रदेश अस्पतालबाट आठवटा शव निकालिँदै थियो । 


यता मुख्यमन्त्री शाहीले भने मन्त्रालयको संख्या आठ वटा पुर्‍याए । भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर अर्काे जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा सीता नेपालीलाई नियुक्त गरे । सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत रहेको युवा तथा खेलकुद महाशाखालाई कानुन मन्त्रालय अन्तर्गत ल्याई आन्तरिक मामिला कानुन युवा तथा खेलकुद मन्त्रालय बनाइयो र यस मन्त्रालयमा विन्दमान विष्टलाई नियुक्ति गरियो । 

त्यसैगरी गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरियो । तर, मुख्यमन्त्रीको पद जोगाएका नेपाली काँग्रेससँग मन्त्रालयको विषयमा भागबन्डा नमिल्दा सपथ ग्रहण कार्यक्रम स्थगित भयो र दुई मन्त्रीलाई पुनः नियुक्ति गरियो । मन्त्रालयको भागबन्डा मिलाउँदा सपथ नखाँदै विन्दमान विष्ट पछि हटे । यति मात्र होइन मुख्यमन्त्रीले दुई बहालवाला मन्त्री हटाएर तीन जना नयाँ मन्त्री नियुक्त गरे । कर्णाली सरकारका प्रवक्तासमेत रहेकी आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिए । यता शाहीले तीन जना नयाँ मन्त्री नियुक्त गरे । 

जब कोभिड–१९को दोस्रो लहर सुरु भयो तब कर्णाली सत्ता समीकरणको खेलमा रुमलियो । कर्णालीमा बैशाख तीन गतेको संसदको बैठकबाट विश्वासको मत पाएसँगै मुख्यमन्त्रीलाई सरकार गठन र भागबन्डा मिलाउनमै फुर्सद छैन । कांग्रेसका ६ जना सांसदसँगै एमाले माधव समूहका चार जना सांसदको सहयोगमा पद जोगाएका मुख्यमन्त्री शाहीले उनीहरूका लागि मन्त्रालय बाँडफाँडमा हम्मेहम्मे परेको छ । फ्लोर क्रस गरेका एमालेका तीन सांसदलाई मन्त्रीमा नियुक्त गरिसकेका छन् भने कांग्रेसलाई दुई वटा मन्त्रालय दिने तयारीमा रहेका छन् । 

कर्णाली सरकार फेरबदलकै कसरतमा लागिरहेकै बेला प्रदेशभर एक सय ३० बढी कोभिड संक्रमितहरू अक्सिजन अभावमा ज्यान गुमाएका छन् । अक्सिजन अभावमा थप कोभिड संक्रमित भर्ना लिन नसकिने सूचना निकाल्न बाध्य भयो प्रदेश अस्पताल । तर, नागरिकस्तरबाट चर्काे विरोध भएपछि अस्पतालले उक्त सूचना सच्याएर सिकिस्त बिरामीलाई मात्र अस्पताल पठाउन स्थानीय तह तथा जिल्ला अस्पताललाई आग्रह गरेको थियो । हालसम्म प्रदेश भर कोभिडका कारण एक सय ७० जनाले ज्यान गुमाएका छन् । अक्सिजन अभावमा संक्रमितको मृत्युदर बढ्दो देखिएको छ । अक्सिजनको अभावका कारण बिरामीलाई उपचार गर्न समस्या भएको प्रदेश अस्पतालको आइसोलेशनमा खटिएकी स्वास्थ्यकर्मी सपडा पहाडी बताउँछिन् । 

प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.संजिव भण्डारी अस्पतालमा अक्सिजनको अभाव रहेको बताउँछन् । ‘अस्पतालमा हिजो ९० वटा सिलिण्डर आएको थियो आज ५० वटा जति आएको छ’, भण्डारी भन्छन्,‘तर यो प्रयाप्त होइन जेनतेन चलाइरहेकै छौँ ।’ 

अस्पतालमा दैनिक दुई सयदेखि ढाई सयसम्म सिलिण्डर आवश्यक पर्ने उनी बताउँछन् । अहिले अस्पतालमा ६५ जना संक्रमित उपचारमा रहेका छन् । जसमध्ये १५ जना सम्म आइसीयू तथा भेन्टिलेटरमा उपचार गराइरहेका उनले बताए । आज संक्रमितको संख्या कम भएकोले व्यवस्थापन गरिएपनि संक्रमित बढेपछि भने व्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ । 

अधिवत्ता गणेश वलीले सरकारले यतिबेला माहामारी नियन्त्रणमा ध्यान दिनुपर्ने बताउछन् । अधिवक्ता वली लगायत अधिवत्ता सेरबहादुर केसी र टिका विष्टले  माहामारी नियन्त्रणमा नलागेको भन्दै कर्णाली सरकारलाई विपक्षि बनाएर आइतवार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतले नागरिकको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । 


Author

थप समाचार
x