स्वास्थ्य

वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट निर्माण हुँदै

लक्ष्मी भण्डारी |
जेठ १३, २०७८ बिहीबार १४:३९ बजे

सुर्खेत : वीरेन्द्रनगरमा नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । चौधरी पाउण्डेशन (सीजी गु्रप) तथा नगरपालिकाको समन्वयमा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको हो । कटकुवा स्वास्थ्यचौकी परिसरमा करिव डेढ करोड लगानीमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसका लागि फाउण्डेशनसँग नगरपालिकाले सम्झौता समेत गरिसकेको छ । २४ घण्टामा ४० लिटरका १५० वटा सम्म सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको उपचारमा अक्सिजनको चरम अभाव देखिएपछि नगरपालिकाले प्लान्ट नै स्थापना गरेर आपूर्ति सहज बनाउने प्रयास थालेको हो । चौधरी फाउण्डेशनको प्राविधिक टोलीले जेठ २५ गतेसम्म प्लान्ट जडान गरिसक्ने गरि तयारी थालिएको नगरप्रमुख देवकुमार सुवेदीले बताए ।


कोरोनाको दोस्रो चरणको माहामारीसँगै अक्सिजनको अभाव भएपछि नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण थालिएको छ । मेडिकल अक्सिजनको अभाव न्यूनीकरण गर्न प्लान्ट स्थापना गर्न लागेका सुवेदीले बताए । उनका अनुसार प्लान्ट सञ्चालनमा लाग्ने सुरूको खर्चलाई ५०/५० प्रतिशत व्यहोर्ने गरी चौधरी गु्रपसँग सम्झौता भएको छ । आधा–आधा खर्च व्यहोरे पनि सञ्चालनको जिम्मा भने नगरपालिकालाई दिइने छ ।

सम्झौताअनुसार चौधरी फाउण्डेशनले प्लान्टको मेशिनलगायत पहिलो चरणको निर्माण र जडानको काम गर्नेछ । प्लान्ट जडान खर्च, स्थानको छनोट र जनशक्ति लगायतको व्यवस्थापन नगरपालिकाले गर्ने गरी सम्झौता भएको छ । प्लान्ट सञ्चालनका लागि अगाडि बढाइएको योजनालाई मंगलबार बसेको नगर कार्यापालिका बैठकले पास गरिसकेको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले प्लान्ट मेशिन चाइनाबाट चार्टर गरी ल्याउने र जडानको कामसमेत फाउण्डेशनले नै गर्ने बताए ।
 


Author

थप समाचार
x