स्वास्थ्य

आँखालाई आराम छ ?

प्रा.डा. नन्द कुमारी गुरुङ |
कात्तिक १, २०७७ शनिवार ११:२० बजे

कोरोनाको कारणले अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिए । जसका कारण मानिसहरुले थुप्रै प्रकारका स्वास्थ्य समस्याहरु घरैमा पालेर बस्न बाध्य भए । त्यसमध्ये आँखाको समस्या पनि एक हो ।

लकडाउन खुलेसँगै सुगममा मानिसहरु आँखाको सेवा लिन थालेपनि दुर्गमका मानिसहरु सेवाबाट बन्चित छन् । अस्पताल जान नपाउँदा धेरैलाई आँखाको समस्या बढेर गएको पाइएको छ । केहीले भने अस्पतालका डाक्टरहरुले दिने काउन्सिलिङ मै चित्त बुझाइरहेका छन् । आँखाको समस्यामा सबैलाई काउन्सिलिङ गरेर समाधान हुन्छ भन्ने छैन । अस्पताल नगइ निको नहुने अवस्था पनि आउन सक्छ ।


अहिले बालबालिकाहरु स्कुल गएका छैनन् । घरमै बसेर खेल्दा/उफ्रिदा लडेर चोटपटक लाग्ने हुन सक्छ । यस्तो बेलामा पनि धेरै समस्या पर्ने गरेको छ । त्यस्तै वृद्ध, उच्च रक्तचाप र मधुमेहका रोगिहरुमा पनि आँखाको विभिन्न समस्या देखिने गरेको छ ।

मोबाइल र कम्प्युटर धेरै चलाउनुहुन्छ ?
अहिले अधिकांश मानिसहरुले ‘स्क्रिन’मा आफ्नो समय बिताइरहेका छन् । त्यसले पनि आँखामा थुप्रै खालका समस्याहरु देखिएका छन् । पहिला दिनभरी स्कुल गएर पढ्ने बालबाबलिकाहरु पनि अहिले दिनभरी घरमा बसेर मोबाइल र कम्प्युटर चलाइरहेका छन् । कतिपय विद्यालयहरुले अनलाइन कक्षा सुरु गरिदिएको छ । यस्तो बेलामा मोबाइल, ल्यापटक र कम्प्युटरबाट टाढा भएर उनीहरु बस्न सक्दैनन् । त्यस्तै, अभिभावकहरुको पनि अवस्था त्यही छ ।

उनीहरुमध्ये कतियले ‘वर्क फ्रम होम’ भन्दै घरैबाट काम गर्न सुरु गरेका छन् । परिवारका ठूला-साना सबै सदस्यले धेरैभन्दा धेरै समय स्क्रिनमा बताइरहेका छन् ।

ध्यान दिनुपर्ने कुराहरु :
- काम परेको बेलामा मात्र मोबाइल, ल्यापटप र कम्प्युटरको प्रयोग गर्ने
- लगातार लामो समयसम्म स्क्रिनमा नबस्ने ।
- बीचबीचमा आराम गर्ने । 
- बेलाबेलामा चिसो पानी छ्यापेर आँखा पखाल्ने ।
- कोठाभित्र मात्रै बसिरहँदा पनि आँखालाई त्यति राम्रो हुँदैन । त्यसैले, बेलाबेलामा घरभन्दा बाहिरको हरियाली वातावरण नियाल्ने । 
- आफ्ना ग्याजेटसँग मात्रै नभएर परिवारका सदस्यहरुसँग पनि कुराकानी गर्ने । 
- राति अबेरसम्म नबस्ने ।
- पौष्टिक खानेकुराहरु खाने ।

लामो समय स्क्रिनमा बिताउँदा आँखा सुख्खा भएर आँखासम्बन्धि अन्य समस्याहरु पनि देखिन सक्छ । आँखाको समस्यालाई सामान्य भनेर हेलचेक््रयाइँ गर्दा यसले भोलिको दिनमा निकै दुःख दिन सक्छ ।

यस्तै, खानपानको कारणले पनि असर गरिरहेको देखिन्छ । भिटामिन ‘ए’ भएका हरियो सागपात र भिटमिन ‘बी’ भएका पहेँलो खानेकुराहरु जस्तैः फर्सी, मेवाले आँखालाई राम्रो गर्छ । तर, बन्दाबन्दीले मानिसहरुले बाहिरबाट आफूले भनेको जस्तो खानेकुरा ल्याएर खान पाएनन् । यसले पनि आँखालाई प्रत्यक्ष असर गरिरहेको छ । (कुराकानीमा आधारित)


Author

प्रा.डा. नन्द कुमारी गुरुङ

गुरुङ आँखा रोग विशेषज्ञ हुन् ।


थप समाचार
x